
रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण

म्याग्दी। रघुगङ्गा गाउँपालिका–१ बेगमा रु एक करोड ५० लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ ।तीनतले सभाहलसहित नौकोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो ।
रघुगङ्गा गाउँपालिका–१ का वडाध्यक्ष बिलप्रसाद फगामीले आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको भवन निर्माण योजनालाई आव २०८२/८३ मा पूर्णता दिइएको बताए। “आव २०८०/८१ मा रु ५० लाख र २०८१/८२ मा रु ५५ लाख बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको हो”, उनले भने , “गत आवमा विनियोजन भएको बजेटबाट रु २७ लाख ७१ हजारमा ठेक्कामार्फत तला थप गरेर सभाहल बनाएर भवनलाई पूर्णता दिइएको हो ।”
नयाँ आर्थिकदेखि भवनको भुइँतलामा स्वास्थ्यचौकी र पहिलो तलामा वडा कार्यालयको सेवा सञ्चालन गरेको वडाध्यक्ष फगामीले बताए। साविक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गरेका दुई आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भएको वडाध्यक्ष फगामीले बताए । यसअघि बेग स्वास्थ्यचौकीको कच्ची भवनको साँघुरो कोठाबाट वडा कार्यालय सञ्चालन भएको थियो । स्थानीयवासीले रु छ लाख चन्दा सङ्कलन गरेर भवन परिसरमा सवारी पार्किङ र घेराबार गरेका छन् ।
आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह गर्न सहज भएको वडाध्यक्ष फगामीले बताए। नयाँ भवनमा वडाध्यक्ष, सचिव, सदस्यहरू, प्रशासन, बैठककक्ष, भण्डारणकक्ष छन् । आठवटा वडा रहेको रघुगङ्गाको यसअघि रघुगङ्गा – ५ झिँ, रघुगङ्गा –२ भगवती, रघुगङ्गा –६ पाखापानीको कार्यालय भवन निर्माण भएको थियो ।
रघुगङ्गा – ३ पिप्ले, रघुगङ्गा – ४ दग्नाम र रघुगङ्गा – ८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालन भएको छ । मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन रहेको छ । नयाँ आर्थिक वर्षमा दग्नाममा ४ नं वडाको कार्यालय भवन निर्माण गरिने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

