
काली गण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । वर्षासँगै काली गण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय, म्याग्दीले आग्रह गरेको छ । मुस्ताङ तर्फबाट लेदोसहितको बाढी मिसिएर नदीको बहाव बढिरहेको जनाउँदै प्रहरीले नदी किनार तथा जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।
तटीय क्षेत्रमा आउन सक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी सतर्क रहन सूचित गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए । “माथिबाट लेदोसहितको बाढी आएको जानकारी प्राप्त भएको छ । काली गण्डकी नदीको आसपासमा रहनुहुने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छौँ”, उनले भने ।
पहिराका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडक अझै खुलाउन नसकिएको उनले बताए । रघुगंगा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो पहिरो जाँदा काली गण्डकी करिडोर अन्तर्गतको उक्त सडक खण्डमा यातायात सेवा बन्द छ । वर्षा भइरहेको र निरन्तर पहिरो खसिरहेकाले सडक सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

