
हर्मुज खुला नभएको इरानको स्पष्टोक्ति

काठमाडौं । इरानले ओमानसँग नयाँ समुद्री यातायात मार्गसम्बन्धी भएको प्राविधिक समझदारीलाई लिएर हर्मुज जलघाँटी पुनः सञ्चालन हुन लागेको भन्ने व्याख्या अस्वीकार गर्दै जलघाँटी अझै बन्द नै रहेको र त्यसलाई खोल्ने निर्णय पूर्णतः अलग विषय भएको स्पष्ट गरेको छ । इरानले जलघाँटी बन्द रहनुको कारण अमेरिकाको नाकाबन्दी, सम्झौता उल्लङ्घन तथा आफूविरुद्ध जारी शत्रुतापूर्ण गतिविधिलाई जिम्मेवार ठहर गरेको छ ।
इरानको सरकारी सञ्चारमाध्यम आइआरआइबीसँगको अन्तर्वार्तामा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँगको सहमति सुरक्षित समुद्री मार्ग व्यवस्थापनका लागि आवश्यक प्राविधिक पूर्वशर्त मात्र भएको बताए । उनका अनुसार यसलाई हर्मुज जलघाँटी पुनः खोल्ने निर्णयका रूपमा बुझ्न मिल्दैन ।
उनले अमेरिकी अधिकारीहरूको पछिल्ला अभिव्यक्ति र चेतावनीले इरानको नीति परिवर्तन नहुने उल्लेख गर्दै राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितका आधारमा मात्र निर्णय लिइने बताए । इरान कुनै पनि बाह्य दबाबबाट प्रभावित नहुने उनको भनाइ थियो ।
बाघाईका अनुसार सुरक्षित समुद्री मार्ग निर्माणसम्बन्धी इरान–ओमान वार्ता अप्रिल ८ मा भएको युद्धविरामसम्बन्धी समझदारीपछि सुरु भएको थियो भने जुन १८ को सहमतिपछि थप तीव्र बनेको हो । दुवै देशले पुरानो उत्तरी मार्ग र असुरक्षित दक्षिणी मार्गको विकल्पका रूपमा नयाँ ‘ट्राफिक सेपरेसन स्किम’ (टीएसएस) तयार गर्ने विषयमा छलफल गरिरहेका छन् ।
उनले हर्मुजको अवस्थालाई मे ३० अघिको अवस्थामा फर्काउने कुनै योजना नरहेको स्पष्ट पार्दै विगतका महिनाका घटनाले नयाँ सुरक्षा संयन्त्रको आवश्यकता देखाएको बताए । इरानको सार्वभौम अधिकारको पूर्ण सम्मान सुनिश्चित भएपछि मात्र जलघाँटी पुनः सञ्चालनबारे निर्णय हुन सक्ने उनले उल्लेख गरे । ओमानसँग भइरहेको वार्ता विशुद्ध द्विपक्षीय विषय भएको र त्यसमा तेस्रो पक्षको कुनै भूमिका नरहेको उनको भनाइ थियो ।
ओमानसँगको प्राविधिक छलफल सकारात्मक रूपमा अघि बढिरहेको स्वीकार गर्दै बाघाईले त्यसलाई जलघाँटी खुल्ने वा बन्द रहने निर्णयसँग जोड्न नहुने दोहोर्याए । उनका अनुसार नयाँ समुद्री मार्गसम्बन्धी समझदारी आवश्यक शर्त भए पनि जलघाँटी पुनः सञ्चालनका लागि त्यो मात्र पर्याप्त आधार होइन ।
प्रवक्ताले हालै इरानी पूर्वाधार तथा केशम टापुका आवासीय क्षेत्रमाथि भएको अमेरिकी सैन्य आक्रमणको प्रसङ्ग उठाउँदै इरानले क्षेत्रीय मुलुकहरू तथा बुल्गेरिया, बेलायत र युक्रेनलगायत केही देशलाई आफ्नो भूमि वा सैन्य सुविधा इरानविरुद्ध प्रयोग गर्न नदिन कूटनीतिक माध्यमबाट चेतावनी दिएको जानकारी दिए ।
संयुक्त राष्ट्रसङ्घको महासभाले आक्रमणको परिभाषासम्बन्धी पारित गरेको प्रस्ताव उद्धृत गर्दै उनले कुनै देशले आक्रमणकारीलाई सैन्य अड्डा, सुविधा वा रसद उपलब्ध गराए त्यस्तो देश पनि आक्रमणमा संलग्न मानिने र इरानले आत्मरक्षाको अधिकार प्रयोग गर्न सक्ने बताए ।
यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले १४ बुँदे इस्लामाबाद समझदारीपत्रलाई इरानको विदेश नीतिको भावी आधारका रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले उक्त समझदारी राष्ट्रिय सहमतिका आधारमा बनेको उल्लेख गर्दै यसले इरान, क्षेत्र तथा उसका साझेदारहरूको सुरक्षा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यता, इजरायली सञ्चारमाध्यमहरूले मध्यस्थकर्ताहरूले इरान र अमेरिकाबीचको समझदारी पुनः सक्रिय गरी हर्मुज जलघाँटी पुनः सञ्चालन गराउने प्रयास गरिरहेको जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जलघाँटी खोल्न सहमति जनाएको दाबी गर्दै ठूलो सैन्य कारबाही नगर्ने सङ्केत दिएको एक दिनपछि यस्तो कूटनीतिक पहल सार्वजनिक भएको हो ।

