
इरानमाथि हमला रोकेर ट्रम्पले भने- सम्झौताको नमूना तयार भयो, होर्मुज स्ट्रेट तत्काल खोलिनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलो सैन्य हमला तत्कालका लागि रद्द गरिएको घोषणा गरेका छन्। इरान तथा मध्यपूर्वका अन्य देशहरूबाट आएको आग्रह र दुवै पक्षबीच सम्झौताको प्रारम्भिक नमूनामा सहमति जुटेपछि हमला रोकिएको ट्रम्पले जनाएका हुन्।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले अमेरिका दोस्रो विश्वयुद्धपछिकै ठूलो सैन्य शक्तिसहित इरानविरुद्ध आक्रमण गर्न पूर्ण रूपमा तयार रहेको तर कूटनीतिक सहमतिका लागि पछि हटेको बताएका छन्।
‘इरान र मध्यपूर्वका अन्य देशहरूले हामीलाई हमला रोक्न आग्रह गरेका छन्, किनकि सम्झौताको ढाँचामा सहमति भइसकेको छ। यसमा होर्मुज स्ट्रेट तत्काल र पूर्ण रूपमा खोल्ने तथा इरानको आणविक खतरा अन्त्य गर्ने विषय समावेश छन्,’ ट्रम्पले लेखेका छन्, ‘छिट्टै सम्झौता हुने सर्तमा मैले हमला रद्द गरेको छु। यो निर्णयमा इजरायल पनि अमेरिकासँगै छ।’
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन वार्ता गरी सम्भावित ठूलो हमला टाल्न र संयम अपनाउन विशेष अपिल गरेका थिए।
अमेरिकी विदेशमन्त्रीले के भने ?
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा अमेरिकी सैन्य कारबाहीका कारण नै इरान वार्ताका लागि तयार भएको दाबी गरेका छन्।
रुबियोका अनुसार अमेरिकी हमलाले इरानको नौसेना, वायुसेना, मिसाइल डिफेन्स र हतियार निर्माण केन्द्रहरूलाई गम्भीर क्षति पुर्याएको छ।
‘इरानसँग अझै मिसाइल र ड्रोनहरू छन्, जसले क्षति पुर्याउन सक्छन्,’ रुबियोले भने, ‘तर उनीहरूले लुक्ने परम्परागत सैन्य ढाल गुमाएका छन्। यही कारण उनीहरू अहिले आणविक निःशस्त्रीकरण र स्ट्रेट खोल्ने विषयमा वार्ता गर्न आतुर देखिएका हुन्।’
इरानको प्रतिक्रिया : अमेरिकाले दोहोरो चरित्र देखायो
ट्रम्पको घोषणाअघि नै इरानी अधिकारीहरूले अमेरिकामाथि दोहोरो चरित्र देखाएको आरोप लगाएका थिए। इरानी सांसद तथा राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता हसन घस्कवीले अमेरिकाले सार्वजनिक रूपमा युद्धको धम्की दिए पनि पर्दापछाडि वार्ताका लागि हारगुहार गरिरहेको बताए।
‘मिडियामा उनीहरू तनाव बढाउने कुरा गर्छन्, तर गोप्य च्यानलहरूबाट वार्ताको माग गर्छन्,’ घस्कवीले भने, ‘होर्मुज स्ट्रेटबाट जहाजहरूको आवतजावत इरानकै व्यवस्थापनअनुसार हुनेछ।’
त्यस्तै, अर्का इरानी सांसद इब्राहिम रेजाईले यदि इरानमाथि हमला भएमा त्यसको जवाफ फारसको खाडीमा मात्र सीमित नरहने र क्षेत्रका सबै अमेरिकी अखडाहरूलाई ‘ढुङ्गे युगमा पुर्याइदिने’ चेतावनी दिएका थिए।
इरान-चीन चेम्बर अफ कमर्सका अध्यक्ष मजिदरेजा हरिरीले इरानका १५० भन्दा बढी विद्युत् प्लान्टहरू देशभर फैलिएकाले हवाई हमलाबाट पूरै देशमा ‘ब्ल्याकआउट’ गराउन अमेरिकाले हिम्मत नगर्ने दाबी गरे।
विश्लेषकहरूका अनुसार गत जुन महिनामा भएको प्रारम्भिक समझदारीको बुँदा ५ मा होर्मुज स्ट्रेटको नियन्त्रणबारे स्पष्ट व्याख्या नहुँदा तनाव बढेको थियो। अब दुवै पक्षबीच स्पष्ट सम्झौता नभएसम्म यो तनाव पूर्ण रूपमा साम्य हुन गाह्रो हुने देखिन्छ।
कस्तो छ पश्चिम एसियाको पछिल्लो खबर ?
वार्ताको चर्चा चलिरहँदा पनि मध्यपूर्वी क्षेत्रमा सैन्य सतर्कता र सानातिना भिडन्तहरू भने जारी छन् । अमेरिकाले इजरायलको तेल अभिभस्थित बेन गुरियन विमानस्थलमा थप १० वटा इन्धन भर्ने (रिफ्युलिङ) सैनिक विमानहरू पठाउँदैछ। त्यहाँ पहिले नै ३० भन्दा बढी यस्ता विमानहरू तैनाथ छन्।
उत्तरी इराकको सुलेमानियाहमा कुर्दिस पेसमर्गाको ७०औँ ब्रिगेडको मुख्यालयलाई लक्षित गरी भएको ड्रोन हमलापछि ठूलो आगो लागेको छ।
तनावका बीच इजरायली सेनाले गाजाको देइर अल-बलाह र गाजा सिटीमा गरेका पछिल्ला हमलाहरूमा कम्तीमा ५ जना प्यालेस्टिनीको मृत्यु भएको छ।

