
प्रधानमन्त्री बालेन शाहले दिए निर्मल पूर्जा लगायतका आरोहीलाई श्रद्धान्जली

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निर्मल पूर्जा लगायतका आरोहीलाई श्रद्धान्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले अग्ला हिमालहरुलाई क्रमश चढ्दै, ठूला जोखिमका बिच त्यो पनि छोटो समयमा सफलता पाएका निर्मल पूर्जाको दुखत निधन पश्चात उनी लगायतको टोलीलाई श्रदान्जली दिएका हुन् ।
पाकिस्तानको हिमाल चढ्ने क्रममा आएको हिमपहिरोमा उनले ज्यान गुमाएका हुन् भने हिजो बिहानबाट उनको उद्धार र खोजी कार्य जारी रहेको थियो ।
यस्तो छ प्रधानमन्त्री शाहको सामाजिक संजालमा :
आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।
विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।
निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ ।
सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ।

