
८६ प्रतिशतले बढ्यो सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा ८६ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ८६.१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ८ करोड ८ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष २३ करोड ४५ लाख रुपैयाँको ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षको अन्तिमसम्ममा घटेर २३ करोड ३४ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा १० करोड ६८ लाख रुपैयाँबाट बढेर २४ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
बैंकले आफ्नो खराब कर्जा १०.६५ प्रतिशतबाट घटाएर ६.१५ प्रतिशतमा झार्न सफल भएको छ भने पूँजी कोष अनुपात ८.२९ प्रतिशतबाट बढाएर ११.२९ प्रतिशत पु¥याएको छ । नाफामा सुधार आएतापनि विगतको सञ्चित घाटाका कारण बैंक अझै लाभांश बाँड्न सक्ने अवस्थामा पुगिसकेको छैन । अघिल्लो आर्थिक वर्ष ६२ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चित कोष गत आर्थिक वर्ष नाफा कमाएका कारण घटेर ५५ करोड ८८ लाख रुपैयाँ ऋणात्मकमा सीमित भएको छ ।
बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष बढेर ४४ करोड ८० लाख १० हजार ८४७ रुपैयाँ पुगेको छ । बैंकको व्यावसायिक आकारमा उल्लेख्य विस्तार भएको छ । समीक्षा अवधिमा बैंकको कुल निक्षेप ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल सम्पत्तिको आकार ८ अर्ब ५० करोड रुपैयाँबाट बढेर १० अर्ब ११ करोड ३० लाख ५६ हजार ७४६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ ८६ रुपैयाँ ७१ पैसा रहेको छ ।

