
धितोपत्र बोर्डद्वारा मर्चेन्ट बैंकरहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन प्रक्रियालाई थप जिम्मेवार, पारदर्शी र गुणस्तरीय बनाउने उद्देश्यले नयाँ मापदण्डका बारेमा सरोकारवालाहरूलाई जानकारी गराएको छ । बोर्डले बिहीबार आफ्नै कार्यालयमा मर्चेन्ट बैंकर संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ अधिकारीहरूलाई लक्षित गरी ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
२०८३ वैशाख १ गतेदेखि लागू भएको उक्त मापदण्डले संगठित संस्थाहरूको वित्तीय विवरणको गुणस्तर, विश्वसनीयता तथा वित्तीय सुशासन अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा बोर्डका अध्यक्ष, पदाधिकारी र विभिन्न मर्चेन्ट बैंकरका प्रतिनिधिहरू गरी करिब ६५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको प्राथमिक पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउन बोर्डले नीतिगत सुधारलाई निरन्तरता दिइरहेको बताए । “सार्वजनिक निष्काशन प्रक्रियामा व्यापक सुधार गर्न बोर्डले ‘प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ,” उनले भने । उक्त श्वेतपत्रले लगानीकर्ताको हित संरक्षण र प्राथमिक बजारको गुणात्मक रूपान्तरणमा विशेष जोड दिने उनको भनाइ थियो । अध्यक्ष भट्टले धितोपत्रको प्राथमिक बजारमा मर्चेन्ट बैंकरहरूको भूमिका अहम हुने उल्लेख गर्दै उनीहरूलाई बजारप्रति थप जिम्मेवार बन्न र लगानीकर्ताको हकहित संरक्षणमा अग्रसर हुन आग्रह गरे ।
नयाँ मापदण्डको कार्यान्वयनसँगै निष्काशनकर्ता कम्पनीहरूको वित्तीय स्वास्थ्य र संस्थागत सुशासन थप सुदृढ हुने विश्वास समेत उनले व्यक्त गरे। कार्यक्रममा बोर्ड सदस्य तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले नयाँ मापदण्डका प्राविधिक पक्षबारे कार्यपत्र प्रस्तुत गरे । उनले मापदण्ड जारी गर्नुको उद्देश्य, कार्यान्वयन प्रक्रिया र यसको उपयोगिताबारे विस्तृत जानकारी दिँदै सार्वजनिक निष्काशनका लागि पेश गरिने वित्तीय विवरणहरूको विश्वसनीयता सुनिश्चित गर्न यो मापदण्ड कोशेढुङ्गा सावित हुने उल्लेख गरे । अन्तरक्रियाका क्रममा सहभागी मर्चेन्ट बैंकरहरूले राखेका जिज्ञासाहरूको सम्बोधन बोर्डका सदस्यहरहरुले गरेका थिए ।

