
प्रचण्डको माग : कप्तानगञ्ज घटनामा निष्पक्ष छानबिनको गर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष दाहालले घटनाका क्रममा सुरक्षाकर्मीबाट गोली चलाउनुपर्ने अवस्था वास्तवमै थियो वा थिएन भन्ने विषयमा गहिरो अध्ययन गरी यथार्थ सार्वजनिक गर्न आग्रह गरे।
“त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन विशेष अपिल गर्न चाहन्छु,” उनले भने।
प्रचण्डले घटनापछि सामाजिक सद्भाव र शान्ति कायम राख्न सरकार संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए। उनले सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै साम्प्रदायिक सद्भाव कायम राख्न सरकारको विशेष भूमिका आवश्यक रहेको बताए।
घटनापछि सर्वदलीय बैठक बोलाएकोमा सरकारलाई धन्यवाद दिँदै उनले प्रधानमन्त्री र गृहमन्त्री उक्त बैठकमा अनुपस्थित रहेको विषयलाई भने चिन्ताजनक भएको टिप्पणी गरे। उनले यस्ता संवेदनशील घटनामा सरकारको प्रत्यक्ष र सक्रिय नेतृत्व आवश्यक हुने धारणा व्यक्त गरे।

