
राहदानी विभागले सार्वजनिक बिदाका दिन पनि आवेदन फाराम खुलाउने

काठमाडौं । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी विभाग (त्रिपुरेश्वर) ले सार्वजनिक बिदाका दिनहरु शनिबार र आइतबार पनि राहदानी (पासपोर्ट) आवेदन फाराम खुलाउने भएको छ।
विभागले एक सूचना जारी गर्दै आगामी सोमबारसम्म (साउन १८ गतेसम्म) सार्वजनिक बिदाका दिनहरुमा समेत आवेदन फाराम उपलब्ध गराइने जानकारी गराएको हो।
वैदेशिक रोजगार विभागले साउन १४ गते प्रकाशित गरेको सूचना अनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन भर्ने म्याद थप गरेपछि राहदानी विभागले पनि सोही विषयलाई ध्यानमा राखेर फाराम संख्या बढाउने निर्णय गरेको छ। विभागका अनुसार ईपीएस आवेदनका लागि राहदानी आवश्यक पर्ने परीक्षार्थीहरुलाई लक्षित गरी हाललाई थप आवेदन फाराम खुला गरिनेछ।
राहदानी विभागले अनलाइन फाराम भर्दा सेवाग्राही स्वयंले उल्लेख गरेको मिति र समयमा नै विभागमा उपस्थित भई राहदानी सम्बन्धी सेवा लिन अनुरोध गरेको छ। तोकिएको समयमा उपस्थित भइदिँदा सेवा प्रवाह थप व्यवस्थित र सहज हुने विभागको विश्वास छ।

