
ऊर्जामन्त्री श्रेष्ठ फिल्डमा उत्रेपछि एकदिनमै हट्यो थापाथली क्षेत्रको अव्यवस्थित तार

काठमाडौं । थापाथली क्षेत्रका अव्यवस्थित तार एक दिनमै हटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अग्रसरतामा बुधबार लामो समयदेखि थापाथली क्षेत्रमा सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका विद्युत्, इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापन गरिएको हो ।
मंगलबार राति तारहरूको गुजुल्टोमा आगलागी भएपछि विहानैदेखि मन्त्री श्रेष्ठ थापाथली पुगेर व्यवस्थापनमा जुटेका थिए। उनले अवरुद्ध सेवा तत्काल सूचारू र तार व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय पनि गरेका थिए ।

फिल्डबाटै मन्त्री श्रेष्ठले सञ्चारमन्त्री विक्रम तिमिल्सिना, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौं महानगरपालिका तथा अन्य सम्बन्धित निकायसँग सम्पर्क गरेर सो क्षेत्रको तार हटाएका हुन् ।
मन्त्री श्रेष्ठले सम्बन्धित निकायको समन्वयमा सफलरूपमा तार व्यवस्थापन गरिएको र अन्य क्षेत्रमा पनि हटाइँदै जाने बताए।
जोखिमपूर्ण अवस्थामा रहेका तारहरूको तत्काल व्यवस्थापन गर्न र दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापन गरिने उनको भनाइ छ । मन्त्री श्रेष्ठले राजधानीका विभिन्न क्षेत्रमा वर्षौंदेखि गुजुल्टिएर रहेका तारलाई व्यवस्थित बनाउने अभियानलाई थप तीव्रता दिइने समेत स्पष्ट पारे ।

मन्त्री श्रेष्ठले सञ्चार मन्त्रालय र सम्बन्धित निकायसँग मिलेर अव्यवस्थित तार हटाउन कार्यलाई तीव्रता दिएको बेलामा सम्बन्धित निकायका पदाधिकारीलाई सँगै लिएर निरीक्षणमा जाने र फिल्डबाटै समन्वय गर्ने काम गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

