
सर्वदलीय बैठक : सरकारको भूमिकामाथि विपक्षीको प्रश्न, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल

काठमाडौं । सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ। रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा प्रमुख प्रतिपक्षीसहित विभिन्न राजनीतिक दलका नेताहरू सहभागी हुँदै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न संयुक्त रूपमा अपिल गरेका छन्।
बैठकमा सहभागी नेताहरूले सुनसरी घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संवेदनशील अवस्थालाई संवाद, संयम र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले यति गम्भीर परिस्थितिमा पनि सरकारको प्रभावकारी उपस्थिति नदेखिएको भन्दै प्रधानमन्त्रीको भूमिकामाथि प्रश्नसमेत उठाएका छन्।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भूकम्प, बाढी–पहिरो तथा संविधान निर्माणजस्ता जटिल परिस्थितिमा राजनीतिक दलहरूले राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै अहिले पनि त्यही राजनीतिक परिपक्वता र साझा जिम्मेवारी आवश्यक रहेको बताए।
उनले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उल्लेख गर्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत परिस्थितिलाई सहज बनाउनुपर्ने धारणा राखे। घटनास्थलमा बाहिरी रूपमा वातावरण भड्काउने तत्त्वसमेत सक्रिय हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन, घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्न उनले सरकारसँग माग गरे।
प्रचण्डले समयमै सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिँदै सरकारलाई अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्न आग्रह गरे।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले पनि सर्वदलीय पहल गरेकोमा रास्वपा र सभापति रवि लामिछानेप्रति आभार व्यक्त गरे। उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसलाई जोगाउन सबै पक्षले संयमता अपनाउनुपर्ने बताए।
थापाका अनुसार नेपाली कांग्रेसले आफ्ना स्थानीय जनप्रतिनिधि तथा कार्यकर्तालाई व्यक्तिगत रूपमा सम्पर्क गरी संयम अपनाउन, समुदायस्तरमा साना बैठक आयोजना गर्न र सद्भावको सन्देश फैलाउन निर्देशन दिइसकेको छ।
सरकारको भूमिकामाथि प्रश्न उठाउँदै थापाले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाएर, राष्ट्रपति, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गर्दै राष्ट्रिय नेतृत्व प्रस्तुत गर्नुपर्ने धारणा राखे। उनले सरकार केवल सुरक्षा परिचालनमा सीमित नभई सबै पक्षलाई विश्वासमा लिएर साझा समाधान खोज्न अग्रसर हुनुपर्ने बताए।
मधेस क्षेत्रमा हुने यस्ता घटनामा राज्यले अतिरिक्त बल प्रयोग गर्ने प्रवृत्ति दोहोरिँदै आएको उल्लेख गर्दै थापाले त्यसको समीक्षा आवश्यक रहेको बताए। यद्यपि, वर्तमान संवेदनशील अवस्थामा सरकारलाई अप्ठ्यारोमा पार्ने उद्देश्य नरहेको र राष्ट्रिय हितका लागि कांग्रेस सरकारसँग सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारे।
बैठकमा सहभागी दलहरूले सुनसरीसहित सम्भावित रूपमा प्रभावित जिल्लाहरूमा पूर्वसतर्कता अपनाउने, स्थानीय तहसम्म सर्वदलीय समन्वय विस्तार गर्ने तथा सामाजिक सद्भाव र शान्ति कायम राख्न संयुक्त प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनका कारण पार्टीको शोक कार्यक्रम रहेकाले सभापति गगन थापाले प्रारम्भिक धारणा राखेर बैठकबाट बाहिरिएको र कांग्रेसका तर्फबाट उपसभापति विश्वप्रकाश शर्मा बैठकमा सहभागी भई थप छलफल गरिरहेको जानकारी दिएका छन्।

