
कर्फ्युका कारण जिल्ला अदालत सुनसरी पनि बन्द

इनरुवा । सुनसरीको इनरुवा क्षेत्रमा जारी कर्फ्यु आदेशका कारण जिल्ला अदालत सुनसरीले बुधबार सम्पूर्ण न्यायिक तथा प्रशासनिक सेवा स्थगित गरेको छ।
सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकालगायतका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि अदालतले सुरक्षा अवस्था र परिस्थितिलाई मध्यनजर गर्दै बुधबारका लागि सबै न्यायिक तथा प्रशासनिक कामकारबाही बन्द गर्ने निर्णय गरेको हो।
जिल्ला अदालत सुनसरी प्रशासनका अनुसार हालको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी अर्को सूचना जारी नभएसम्मका लागि बुधबार अदालतका नियमित सेवा सञ्चालन नगरिने भएको छ।
अदालतद्वारा प्रकाशित सूचनामा सेवाग्राही, कानुन व्यवसायी, कर्मचारी तथा न्याय सम्पादनमा संलग्न सबैको सुरक्षा र सार्वजनिक हितलाई ध्यानमा राखी यो निर्णय लिइएको उल्लेख गरिएको छ। अदालतले आजको दिनलाई शून्य समय मान्ने निर्णय गरेको छ । सूचना अनुसार, आज अदालतमा उपस्थित हुनुपर्ने, म्याद वा तारेख भएका व्यक्तिहरूको हकमा हदम्याद र तारेख गुज्रने छैन ।
यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार रातिदेखि अर्को आदेश जारी नभएसम्म इनरुवा नगरपालिकासहित जिल्लाका १० वटा स्थानीय तहमा कर्फ्यु आदेश लागू गरेको थियो। प्रशासनले सार्वजनिक शान्ति, सुरक्षा र सम्भावित अप्रिय घटना रोक्न उक्त निर्णय गरेको जनाएको छ।

