
एक वर्षमा साढे २७ अर्ब भन्दा बढी सुनको आयात, जेठ महिनामा किन भएना आयात ?

काठमाडौं । सुनको मूल्य आकासिइरहँदा नेपाली बजारमा सुनको आयातमा कमी देखिएको छैन। आर्थिक वर्ष २०८२/८३ को एक वर्षमा नेपालमा २७ अर्ब ७६ करोड ६६ लाख ८० हजार रुपैयाँको सुन आयात भएको छ। सो मूल्यको १४ लाख ४ हजार ३९८ ग्राम अर्थात् १४ सय ४ किलोग्राम सुन आयात भएको थियो।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो आयात १४.८८ किलोग्रामले बढी हो। अघिल्लो आवमा १३ लाख ८९ हजार ५१६ ग्राम अर्थात् १३ सय ९० किलोग्राम सुन आयात भएको थियो।
नेपालमा सुनको आयात वाणिज्य बैंकहरूमार्फत हुने गर्दछ। व्यवसायीहरूले माग गरेअनुसार बैंकहरूले सुनको आयात गर्ने गर्दछन्। गत आवको जेठ महिनामा भने सुनको आयात नभएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।
पछिल्लो समय बजारमा सुनको मूल्य बढ्दा, भन्सार बढ्दा र माग नभएका कारण जेठ महिना आयात नगरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन्। ‘मलमास महिनामा कुनै पनि शुभकार्य नहुने भएकाले नयाँ सुनको आवश्यकता नपर्ने हुँदा जेठ महिनामा सुनको आयात नगर्नु भनेर बैंकहरुलाई आग्रह गरेको,उनले इक्विटी नेपाललाई बताए।
कुन महिना कति सुन आयात भयो?
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै वाणिज्य बैंकहरुले १०० किलोग्राम सुन आयात गरेका थिए। पहिलो महिनामा १ अर्ब ५२ करोड ६३ लाख ७१ हजार रुपैयाँको सुन आयात गरिएको थियो।
भदौ महिनामा १ अर्ब ६० करोड ३६ लाख २० हजार रुपैयाँमा १०१ किलो सुन आयात गरिएको थियो।
असोज महिनामा एकै पटक बैंकहरुमार्फत् ४०० किलो सुन आयात गरिएको तथ्यांक देखिन्छ। असोजमा विदेशबाट कूल ७ अर्ब १२ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरको सुन आयात गरिएको थियो।
त्यस्तै, कात्तिकमा ३०१ किलो सुन आयात गरिएको थियो, जसको मूल्य ५ अर्ब ४६ करोड ७८ लाख ५९ हजार रुपैयाँ थियो। मंसिर महिनामा १ किलो मात्रै सुन आयात भएको छ। पुसमा ३ अर्ब ११ करोड २५ लाख ४८ हजार रुपैयाँको १५० किलो सुन आयात भएको छ। माघमा १०१ किलो, फागुनमा १०० किलो, चैतमा १४५ किलो र वैशाखमा १०० किलो आयात भएको छ।

