
करदातालाई दपेटेर होइन, खुसी बनाएर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रशासनको व्यवहार र कार्यशैली सुधार गर्दै करदातामैत्री वातावरण बनाउन निर्देशन दिएका छन् । उनले कर उठाउने नाममा करदातालाई त्रसित बनाउने नभई विश्वास, सहजीकरण र स्वेच्छिक कर अनुपालनमार्फत राजस्व संकलन गर्न आग्रह गरेका छन् ।
बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा विभाग र मातहतका देशभरका कर अधिकृतलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले करदाताको सन्तुष्टि नै प्रभावकारी कर प्रशासनको आधार भएको बताए । ‘करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,’ उनले भने, ‘मैले बजारमा सुन्न पाऊँ– कर प्रशासनमा ठूलो सुधार भएछ, कर तिर्न बोझ छैन, कोही पनि त्रसित छैनन् ।’
उनले करदाता डरका कारण होइन, राज्यप्रतिको विश्वासका आधारमा कर तिर्ने वातावरण बनाउनुपर्ने बताए। कर प्रशासनको लक्ष्य कर छल्ने प्रवृत्ति नियन्त्रण गर्नु मात्र नभई कर तिर्न चाहने नागरिक र व्यवसायीलाई सहज सेवा उपलब्ध गराउनु पनि भएको उनको भनाइ थियो । ‘करदाता त्रसित भएर करको दायरामा आएको मैले सुन्न नपरोस्। कर तिर्नबाट लुकेका छन् भन्ने अवस्था कसैलाई नआओस्,’ उनले भने । अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटले निर्धारण गरेको १६ खर्ब रुपैयाँको राजस्व लक्ष्य पूरा गर्न आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण रहेको बताए । राजस्व संकलनसँगै करदाता सेवा सुधारलाई पनि समान प्राथमिकता दिन उनले निर्देशन दिए ।
‘करदाता खुसी हुनुपर्यो, कर उठाउनेले सहजीकरण गर्नुपर्यो र राजस्वको लक्ष्य पूरा हुनुपर्यो । मिसन १६ खर्बमा आन्तरिक राजस्वको भागको लक्ष्य पूरा हुनुपर्छ,’ उनले भने । उनले कर प्रशासनलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, पूर्वाधार, सूचना प्रविधि वा अन्य स्रोतसाधनको अभाव भए निर्धक्क जानकारी गराउन कर्मचारीलाई आग्रह गरे। समस्या लुकाएर काम प्रभावकारी नहुने भन्दै उनले सुधारका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
कर प्रशासनमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने नीति लिइने पनि उनले बताए। राज्यलाई योगदान पु¥याउने र जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्ने कर्मचारीको वृत्तिविकासलाई प्राथमिकता दिइने उनको भनाइ थियो । अर्थमन्त्रीले बजेटमा व्यवस्था गरिएका कर छुट तथा सहुलियत कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिए। करदाता सचेतना विस्तार, कारोबारको डिजिटलीकरण र स्वेच्छिक कर अनुपालन बढाउने गरी कार्यक्रम सञ्चालन गर्न उनले विभागीय नेतृत्वलाई आग्रह गरे ।

