
‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमा अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले कृत्रिम बुद्धिमत्ता (एआई) निर्मित भिडियो बनाएर भ्रम फैलाइएकोप्रति असन्तुष्टि जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ढकालले झुटा र भ्रामक प्रचारप्रति सजक रहन आग्रह गरेका हुन् ।
‘कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी मेरो भिडियो अन्तर्वार्ता जस्तो देखिने सामग्री बनाई, निश्चित रकम लगानी गरेपछि साप्ताहिक रूपमा ठूलो रकम आम्दानी गर्न सकिने भन्ने झुटा र भ्रामक प्रचार फेसबुक लगायत सामाजिक सञ्जालमा फैलाइएको थाहा हुन आएको छ,’ उनले लेखेका छन् ।
यस्ता झुटा तथा भ्रामक सामग्री तयार गर्ने, प्रसारण गर्ने तथा सर्वसाधारणलाई ठगी गर्ने प्रयासमा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गरिसकिएको समेत उनले बताएका छन् ।

