
अमेरिकालाई ‘कहिले नभुल्ने पाठ सिकाउने’ इरानी सर्वोच्च नेता खामेनीको चेतावनी

काठमाडौं । इरानी सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिकालाई ‘कहिले नभुल्ने पाठ सिकाउने’ चेतावनी दिएका छन् । इरानको सरकारी टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा सञ्चालकले सर्वोच्च नेता खामेनीसँग सम्बन्धित नयाँ लिखित सन्देश पढेर सुनाएका छन् ।
उक्त सन्देशमा अमेरिकालाई ‘कहिल्यै नभुल्ने गरी पाठ सिकाइने’ चेतावनी दिइएको छ । सन्देशमा भनिएको छ, ‘सम्झौताको उल्लंघनले फेरि एक पटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्व वा विश्वसनीयता नरहेको प्रमाणित गरेको छ ।’
‘अमेरिकाले फेरि एक पटक संसारसामु आफ्नो वास्तविक अनुहार देखाएको छ । उसका कदमहरूले उसका नीतिहरू झुट, अविश्वसनीय र छलपूर्ण रहेको पुष्टि गर्छन्,’ लिखित सन्देशमा भनिएको छ। ‘यदि अमेरिकाले युद्ध भड्काउने प्रयास गर्यो भने उसले ठूलो क्षति बेहोर्नु पर्नेछ । इरान र उसका सहयोगीहरूले अमेरिकालाई यस्तो जवाफ दिनेछन्, जसलाई उसले लामो समयसम्म सम्झिरहने छ,’ सन्देशमा भनिएको छ ।

