
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्यो, करिब २ लाख सीप नभएका कामदार विदेशिए

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर कुल ७ लाख ९२ हजार १ सय ८७ जना वैदेशिक रोजगारीमा गएका हुन्।
जसमा ६ लाख ९७ हजार ९६ जना पुरुष र ९५ हजार ९१ जना महिला रहेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्षमा विदेशिनेको संख्या ४७ हजार ७९ ले घटेको हो। आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जान विभागबाट ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए।
विभागको तथ्यांकअनुसार म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ। गत आवमा म्यानपावर कम्पनीहरूले २ लाख ६८ हजार ९ सय ९० जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए भने १ लाख २८ हजार ५ सय २० जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए। यस्तै, गत आवमा जी–टु–जी मार्फत ८ हजार १ सय ९७ जना विदेशिएका थिए।
वैदेशिक रोजगारीमा जानेहरूमध्ये सबैभन्दा बढी यूएईमा १ लाख ८३ हजार ५ सय ८०, मलेसियामा १ लाख २८ हजार ७ सय ५३, कतारमा १ लाख २१ हजार २ सय ३० र साउदी अरेबियामा १ लाख २३ हजार ७ सय १९ जना रहेका छन्।
तीबाहेक कुवेतमा ४३ हजार ३ सय ६०, रोमानियामा ३३ हजार ३ सय ६० र जापानमा २२ हजार २ सय ६६ जना गएका छन्। तथ्यांकअनुसार सीप नभएका (अदक्ष) कामदारहरू धेरै संख्यामा वैदेशिक रोजगारीमा गएका छन्। एक वर्षको अवधिमा सीप नभएकाहरूको संख्या १ लाख ९० हजार २ सय ६४ जना रहेको छ।

