

सातामा कारोबारको अन्तिम दिन १८ अंकले घट्यो नेप्से परिसूचक




काठमाडौं । आज साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको अवस्था छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १८ दशमलव १४ अंकले घटेर बन्द भएको नेप्से सूचकमा देखिएको हो।
साथै, यसभन्दा अघिल्ला तीन दिन लगातार रुपमा बढेको सेयर बजारमा आज दोहोरो अंकको करेक्सन भएको अवस्स्थामा कारोबार बन्द हुँदा परिसूचक २६३५ दशमलव ०९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५५ वटाको सेयर मूल्य पनि बढेको छ भने १८० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९७ अंकले घटेर ४४८ दशमलव ५४ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै सेयर मूल्य बढेको छ ।
परिसूचक घटे पनि कारोबार रकममा भने आज सुधार भएको छ । अघिल्लो दिन ६ अर्ब ४० करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब भन्दा धेरैको कारोबार भएको छ ।
बिहीबार सेयर बजारमा ३०८ कम्पनीका १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर ७३ हजार ३०९ पटक खरिद बिक्री हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसरी नै नेप्से परिसूचक घटे पनि आज दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।