
साउनका लागि पनि घट्यो बैंककोहरुको ब्याजदर, कुनको कति ?

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि आफ्नो नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । प्राप्त तथ्याङ्क अनुसार असारको तुलनामा साउन महिनामा निक्षेपको औसत ब्याजदर घटेको देखिन्छ ।
बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असारको ४.२५८ प्रतिशत विन्दुबाट घटेर साउनमा ४.१६७५ प्रतिशत विन्दुमा झरेको छ । त्यस्तै, संस्थागत निक्षेपको औसत दर पनि असारको ३.१८ प्रतिशत विन्दुबाट घटेर साउनमा ३.११६ प्रतिशतविन्दुमा झरेको छ ।
साउन महिनाका लागि राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु र संस्थागततर्फ १ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएर ४ प्रतिशत कायम गरेको छ ।
असारको तुलनामा साउनमा एनएमबि बैंकले ०.२५ प्रतिशतविन्दु, सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशतविन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१ प्रतिशतविन्दु र कुमारी बैंकले ०.०६ प्रतिशतविन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।
समीक्षा अवधिमा नेपाल बैंकले भने व्यक्तिगत ब्याजदर स्थिर (४.२५ प्रतिशत) राखे पनि संस्थागत निक्षेपतर्फको दरमा १ प्रतिशतविन्दुको वृद्धि गरी ४ प्रतिशत पुर्याएको छ । नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक लगायतका १३ वटा बैंकहरूले असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन्।


