
चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ) डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा आयोगले कारबाही गरेको हो।
आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले बुधबार खड्कालाई दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। अख्तियारले खड्कामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

