
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका घिमिरेले सोमबार सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। उनले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
नियुक्तिपत्र प्रदान गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका अध्यक्ष घिमिरेप्रति उच्च अपेक्षा रहेको बताए । सिफारिस समितिले अन्य उम्मेदवारभन्दा न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढंगले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा छनोट गरेको उल्लेख गर्दै उनले नियामक निकायले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।
मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रका विद्यमान समस्या समाधानमा विशेष ध्यान दिन, कानुनी जिम्मेवारीअनुसार निष्पक्ष रूपमा काम गर्न तथा नागरिकको हित र सेवाको गुणस्तरलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिए। उनले अधिकारको दुरुपयोग नगरी अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न पनि सुझाव दिए।
नवनियुक्त अध्यक्ष घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमी–कमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कानुन, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास, सेवा विस्तार र सुशासनका लागि काम गर्ने उनले बताए।

