
बीवाईडी प्रकरणपछि अर्थ मन्त्रालय तानिए भन्सार विभागका महानिर्देशक भण्डारी

काठमाडौं । भन्सार विभागका महानिर्देशक श्याम भण्डारीलाई अर्थ मन्त्रालयमा तानिएको छ । बजेट वक्तव्यअघि विद्युतीय सवारीसाधन (ईभी) को भन्सार महसुल दर परिवर्तनसम्बन्धी सूचना चुहिएको भनिएको बीवाईडी प्रकरणपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णयमार्फत भण्डारीलाई मन्त्रालय तानेका हुन् ।
बजेटमा करका दर परिवर्तन हुने जानकारी सार्वजनिक हुनुअघि नै बीवाईडीसहित विभिन्न ब्रान्डका विद्युतीय सवारीसाधन दुई प्रमुख भन्सार नाकाबाट जाँचपास भएको विषय सार्वजनिक भएपछि उक्त घटनाले व्यापक चर्चा पाएको थियो । कर परिवर्तनको पूर्वसूचनाको दुरुपयोग गरी केही आयातकर्ताले लाभ लिएको आशंका गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न विभिन्न क्षेत्रबाट माग हुँदै आएको छ । यस प्रकरणमा भन्सार विभागका प्रमुखका रूपमा भण्डारीको भूमिकामाथि पनि प्रश्न उठाइएको छ ।
यही पृष्ठभूमिमा अर्थ मन्त्रालयले भण्डारीलाई विभागबाट फिर्ता बोलाएको हो। मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार विभागका उपमहानिर्देशक भरतमणि पाण्डेलाई भन्सार विभागको निमित्त महानिर्देशकको जिम्मेवारी तोकिएको छ ।

