
नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

काठमाडौं। नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा बिहीबार कोषकी निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार गाउँपालिकाले श्रमिक कल्याण कोष सञ्चालन कार्यविधिबमोजिम सहभागी श्रमिकलाई पेन्सन योजनामा समावेश गराउनेछ। यस व्यवस्थाअन्तर्गत श्रमिक कल्याण कोषबाट गाउँपालिकाले मासिक ५०० रुपैयाँ र सहभागी श्रमिकले मासिक ५०० रुपैयाँ गरी प्रतिमहिना कुल १ हजार रुपैयाँ योगदान रकम जम्मा गरिनेछ।
योजना सञ्चालनका लागि आवश्यक केवाईसी फाराम तथा व्यक्तिगत विवरण कार्ड कोषले निःशुल्क उपलब्ध गराउनेछ भने सहभागी श्रमिक तथा उनीहरूको व्यक्तिगत खातासम्बन्धी विवरण अद्यावधिक राख्ने जिम्मेवारी गाउँपालिकाको हुनेछ। नागरिक पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ बमोजिम सहभागी श्रमिकले ६० वर्ष उमेर पुगेपछि पेन्सन सुविधा प्राप्त गर्नेछन्।
पेन्सन प्राप्त गरिरहेका सहभागीको मृत्यु वा हराइ बेपत्ता भएको अवस्थामा प्रचलित व्यवस्थाअनुसार निजका श्रीमान् वा श्रीमतीलाई सहभागीले पाए सरहको आजीवन पेन्सन उपलब्ध गराइनेछ। दुवैको मृत्यु भएमा खातामा रहेको बचत रकम नजिकको हकवालालाई उपलब्ध गराइने व्यवस्था सम्झौतामा गरिएको छ। साथै, योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्मको रकम गाउँपालिकाको सिफारिसमा सापटीका रूपमा लिन सकिने व्यवस्था पनि रहेको छ।

