
भारतले एलपीजीमा लगाइएको प्रतिबन्ध हटायो

काठमाडौं । मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी) मा लगाइएको प्रतिबन्ध हटाएको छ । हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सरकारले सङ्कटकालीन नियन्त्रणहरू अन्त्य गरेको हो ।
पेट्रोलियम मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्तिमा गैर–घरेलु प्याक गरिएको एलपिजीमाथिको प्रतिबन्ध हटाइएको र पश्चिम एसियामा सङ्कट सुरु हुनुअघिकै स्तरमा आपूर्ति पुनःस्थापित गरिएको जनाएको छ । मन्त्रालयका अनुसार सङ्कटको सुरुआतमा रोकिएको बल्क एलपिजी आपूर्तिलाई पनि पूर्ववत् उपभोगको ५० प्रतिशतसम्म पुनः सञ्चालन गरिएको छ ।
इरान र अमेरिकाबीच रणनीतिक जलमार्ग पुनः सञ्चालन गर्ने सहमति भएपछि हर्मुज हुँदै हुने ऊर्जा ढुवानीमा सुधार आएको छ । त्यसपछि भारतले आपूर्ति व्यवस्थालाई क्रमशः सामान्य अवस्थामा फर्काउन थालेको हो ।
खाडी क्षेत्रका आपूर्ति मार्गमा आएको अवरोधले भारतको ऊर्जा सुरक्षामात्र नभई, समग्र अर्थतन्त्रमा पनि दबाब सिर्जना गरेको थियो । यसले आर्थिक वृद्धिदरका अनुमानमा समेत असर पारेको थियो । अहिले ऊर्जा आपूर्ति सुधार भएसँगै सरकारले बजारलाई क्रमशः सामान्य अवस्थामा फर्काउने प्रक्रिया अघि बढाएको छ ।

