
क्यानडाको ऐतिहासिक जित, कतारको पोष्टमा ६ गोल

काठमाडौं । सहआयोजक क्यानडाले फिफा विश्वकप–२०२६ मा फराकिलो जित निकालेको छ । क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६–० को फराकिलो जित निकालेको हो ।
क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एकएक गोल गर्दा एक गोल उपहार पायो । खेलको १६ औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । त्यसपछि जोनाथन डेभिडले २९ औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । ३३ औं मिनेटमा हमाम अहमद रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सिमित भयो । पहिलो हाफको इन्जुरी समयमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई तेब्बर बनाए ।
५१ औं मिनेटमा असिम माडिबोले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएसँगै कतार ९ खेलाडीमा सीमित रह्यो । जसको फाइदा क्यानडाले उठायो । ६४औं मिनेटमा नाथनले गोल गर्दे क्यानडालाई ४ गोलको अग्रतामा पुर्याए । खेलको ७५ औं मिनेटमा कतारका मोहम्मद मनाई आत्मघाती गोल गर्दा क्यानडाको अग्रता ५–० मा पुग्यो । दोस्रो हाफको इन्जुरी समयमा जोनाथनले ह्याट्रिक पूरा गरे भने टोलीले पनि ६–० को फराकिलो जित दर्ता गर्यो ।
यो विश्वकप इतिहासमा क्यानडाको पहिलो जित निकालेको हो । यसअघि दुई विश्वकप खेलेको क्यानडाले कुनै पनि जित निकाल्न सकेको थिएन । यो जितसँगै क्यानडा २ खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा छ । समान ३ अंक भएको स्विट्जरल्यान्ड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । बोस्निया एन्ड हर्जगोभिना र कतारको समान एकएक अंक छ ।

