
मकालु वाइन इन्डस्ट्रीजले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा रिलायबल इन्भेष्टमेन्ट क्यापिटल नियुक्त



काठमाडौं । मकालु वाइन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति सेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो।
आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा मकालु वाइनका अध्यक्ष पिताम्बर पोख्रेल तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।
वि.सं. २०५२ सालमा धर्मदेवी नगरपालिका–३, संखुवासभामा स्थापना भएको मकालु वाइनले विगत ३१ वर्षदेखि समुन्द्र सतहबाट करिब २८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंशेलुबाट “हिंवा वाईन” उत्पादन गर्दै आएको कम्पनीले बताएको छ। कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ ।
कम्पनीमा देवश्री भेन्चर, हारभेस्ट भेञ्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्ट लगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ। कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाईन बजारमा ल्याउने तयारी समेत गरिरहेको जनाएको छ ।


