
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा पत्रकारहरुले उनको प्रतिक्रिया लिन खोजेका थिए । तर लामिछानेले भारतबाट फर्किएपछि कुरा गर्ने भन्दै थप बताएनन् । सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।
रवि जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नेछन् । त्यसक्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि उनले अयोध्याको भ्रमण पनि गर्ने पार्टी प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ ।


