
एनआईसी एशिया लघुवित्तले बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?



काठमाडौं । एनआईसी एशिया लघुवित्तले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको जेठ ५ गेत बसेको सञ्चालक समितिको बैठकले जेठ ३० गतेका लागि ८ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त सभा धरान–१२ स्थित गोर्खा होटेलमा बिहान ११ बजे शुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरिनेछ । साथै आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
विशेष प्रस्तावतर्फ संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने, नियामक निकायबाट आवश्यक निर्देशन आए सोअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ। यससँगै अन्य ‘घ’ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति (मर्जर) प्रक्रियालाई अघि बढाउन उपयुक्त संस्था पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने तथा नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति लिन आवश्यक प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
साधारणसभा प्रयोजनका लागि संस्थाले जेठ १९ गते एक दिन बूक क्लोज गर्ने जनाएको छ । तसर्थ जेठ २८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरू मात्रै सभामा सहभागी भई मतदान गर्न योग्य हुनेछन्।


