
बजार अनुगमन, म्याद नाघेका सामग्री बरामद
तेह्रथुम। आगामी बडादसैँ लगायतका चाडपर्वलाई लक्षित गरी तेह्रथुममा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आज सदरमुकाम म्याङलुङका एक दर्जन पसलमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा चारवटा पसलबाट रु छ हजार ३९४ मूल्य बराबरका म्याद नाघेका किराना तथा औषधिजन्य सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मणसिंह राठौरले बताए । उनका अनुसार अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, कर चुक्ता, अन्तःशुल्क नवीकरण र खरिद बिक्रीका बिल जारी भए नभएको जाँच गरिएको र बजार अनुगमनलाई आगामी दिनमा पनि नियमित गरिनेछ ।
अनुगमनप्रति प्रतिक्रिया दिँदै श्रीजन स्टोरका सञ्चालक अमृत रेग्मीले उपभोक्ता हित संरक्षणको लागि नियमित रुपमा बजार अनुगमन हुन आवश्यक रहेको बताए । अनुगमनमा म्याङलुङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, कोष तथा लेखा नियन्त्रक कार्यालय, उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सहभागी थिए ।


