
सरकारको आम्दानी लक्ष्यभन्दा पछाडि, राजस्व र अनुदान संकलनमा सुस्तता



काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको आम्दानी वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चिएको छ । चालु आवका लागि कूल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख बराबर आम्दानी गर्ने लक्ष्य रहेकामा सरकारले हालसम्म १० खर्ब १२ अर्ब ५ करोड २४ लाख रुपैयाँ बराबर आम्दानी गरेको हो ।
यस आवमा १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेको सरकारले पछिल्ला १० महिनामा वार्षिक लक्ष्यको ६६.७९ संकलन गरेको छ । सरकारले यसअवधिसम्म ९ खर्ब ८८ अर्ब ५५ करोड २२ लाख राजस्व संकलन गरेको छ । यता, ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म सो लक्ष्यको ३३.२८ प्रतिशतअर्थात् १७ अर्ब ७८ करोड ७६ लाख बराबर अनुदान लिएको छ ।
यता, सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका १० महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९.७५ प्रतिशत खर्च भएको छ ।
उक्त कार्यालयका अनुसार चालु आवका लागि चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा ६८.९८ प्रतिशतअर्थात् ८ खर्ब १४ अर्ब ६५ करोड ५५ लाख खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ ४ खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकोमा २७.९१ प्रतिशतअर्थात् १ खर्ब १३ अर्ब ८४ करोड ९२ लाख बराबर खर्च भएको छ ।
वित्तीय व्यवस्थातर्फ हालसम्म बजेट खर्च ६५.३० प्रतिशत छ । यो शीर्षकमा चालु आवका लागि सरकारले ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन गरेकामा हालसम्म २ खर्ब ४५ अर्ब १ करोड ५४ लाख रुपैयाँ बराबर खर्च भएको छ ।


