
युनियन हाइड्रोपावरले पारित गर्यो शतप्रतिशत हकप्रदको प्रस्ताव



काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको छ ।
वैशाख ६ गते सम्पन्न विशेष साधारण सभाबाट हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको जानकारी कम्पनीले दिएको छ । हाल कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ छ ।
शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ कायम हुनेछ । यस कम्पनीले लमजुङ जिल्लामा ३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन गर्दै आएको छ ।
यो वाहेक २८ दशमलव ९ मेगावाट क्षमताको होङ्गु खोल जलविद्युत आयोजना र ६० मेगावाट क्षमताको माथिल्लो तमोर “ए” जलविद्युत आयोजनको समेत सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई विद्युत विक्री सम्झौताको तयारी भैरहेको छ ।
विद्युत विकास विभागबाट भने यी दुबै योजनाको विद्युत उत्पादन अनुमति पत्र प्राप्त भैसकेको छ । वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १०४ रुपैयाँ १७ पैसा छ ।


