
प्रभु महालक्ष्मी लाइफको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुँदै



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक समूहअन्तर्गतको १० प्रतिशत सेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ।
हाल कम्पनीको सेयर स्वामित्व संरचनामा संस्थापक सेयरधनीहरूको हिस्सा ८४.६७ प्रतिशत र सर्वसाधारण सेयरधनीहरूको हिस्सा १५.३३ प्रतिशत रहेको छ। प्रचलित व्यवस्था अनुसार संस्थापकको हिस्सा कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी सेयर सर्वसाधारणमा परिवर्तन गर्न सकिने प्रावधान रहेको छ ।
सोही प्रावधानअनुसार गत चैत १९ गते सम्पन्न विशेष साधारणसभाले कुल संस्थापक शेयरमध्ये १० प्रतिशत सेयर सर्वसाधारणमा रूपान्तरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ । यस प्रक्रिया पूरा भएपछि कम्पनीको सेयर संरचना परिवर्तन भई संस्थापक समूहको हिस्सा ७६.२० प्रतिशतमा झर्नेछ भने सर्वसाधारण समूहको हिस्सा २३.८० प्रतिशत पुग्नेछ । यसका लागि नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको पनि कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीले यदि कुनै संस्थापक सेयरधनी आफ्नो सेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्न इच्छुक नरहेको भए सूचना प्रकाशित मिति (चैत २७ गते) ले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित निवेदन दिन अनुरोध गरेको छ । उक्त समयभित्र कुनै निवेदन नआएमा सम्बन्धित सबै सेयरधनीको सहमति रहेको मानी रूपान्तरण प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।


