
कल मोबिलिटी प्रालि र मेल्टडाउन नेपालबीच फिट्नेस सहकार्यका लागि सम्झौता



काठमाडौं । नेपालका लागि हुवावे उत्पादनहरूको एकमात्र आधिकारिक राष्ट्रिय वितरक कल मोबिलिटी प्रालि र नेपालको तीव्र गतिमा विस्तारित फिट्नेस समुदाय मेल्टडाउन नेपालबीच एक वर्ष लामो सहकार्यको घोषणा गरिएको छ।
हुवावे र मेल्टडाउनबीचको यो साझेदारीले नेपालका स्वास्थ्य-सचेत नागरिकहरूलाई प्रविधि र फिट्नेससँग जोड्ने लक्ष्य राखेको छ। हुवावेको अत्याधुनिक ‘वेयरेबल’ प्रविधिलाई वास्तविक जीवनका अनुभवहरू र विभिन्न फिट्नेस अभियानहरूमार्फत प्रयोगकर्तासम्म पुर्याउन यो सहकार्य प्रभावकारी हुने विश्वास गरिएको छ।
यो साझेदारीको औपचारिक सुरुवात आगामी अप्रिल १५, २०२६ मा नेपालमा हुवावे ब्याण्ड ११ सिरिजको भव्य सार्वजनिक कार्यक्रमसँगै हुनेछ। यो नयाँ सिरिजको लन्चले नेपालको प्रविधि र फिट्नेस बजारमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।
मेल्टडाउन नेपालले दौड, तालिम सत्रहरू र डिजिटल सामग्रीमार्फत युवा व्यावसायिक र फिट्नेस प्रेमीहरूलाई जोड्दै आएको छ। हुवावेका लागि आफ्नो लक्षित ग्राहकवर्गसँग अर्थपूर्ण र व्यावहारिक रूपमा जोडिन यो एक उत्कृष्ट प्लेटफर्म हुनेछ।
साझेदारीका बारेमा बोल्दै कल मोबिलिटी प्रालिकी मार्केटिङ म्यानेजर विजया रोका क्षेत्रीले यो सहकार्यले प्रविधिलाई दैनिक जीवनशैलीमा एकीकृत गर्ने र फिट्नेसप्रेमी समुदायसँग प्रत्यक्ष जोडिएर नेपाललाई एक स्वस्थ र फिट राष्ट्र बनाउने हाम्रो परिकल्पनालाई प्रतिबिम्बित गर्ने बताए।


