
मारुति आयलको उत्साहजनक व्यापार



काठमाडौँ । नेपालको निर्यातजन्य उद्योगमा उदाउँदो मारुति आयल इन्डस्ट्रिज प्रालिले व्यावसायिक सञ्चालनको छोटो अवधिमै उत्साहजनक व्यापारिक फड्को मारेको छ।
सन् २०२४ डिसेम्बर २७ बाट उत्पादन सुरु गरेको यस उद्योगले आफ्नो पहिलो साढे १२ महिनाको अवधिमा झण्डै ५ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ। मोरङको कटहरीमा रहेको यस उद्योगले मुख्यतया सोयाबिन तेल प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएको छ।
काठमाडौँ । नेपालको निर्यातजन्य उद्योगमा उदाउँदो मारुति आयल इन्डस्ट्रिज प्रालिले व्यावसायिक सञ्चालनको छोटो अवधिमै उत्साहजनक व्यापारिक फड्को मारेको छ।
सन् २०२४ डिसेम्बर २७ बाट उत्पादन सुरु गरेको यस उद्योगले आफ्नो पहिलो साढे १२ महिनाको अवधिमा झण्डै ५ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ। मोरङको कटहरीमा रहेको यस उद्योगले मुख्यतया सोयाबिन तेल प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएको छ।
वित्तीय सूचकहरूका आधारमा पनि मारुति आयल मजबुत बन्दै गएको देखिन्छ। उद्योगको ब्याज तिर्न सक्ने क्षमता अघिल्लो वर्ष ५.४ गुणा रहेकोमा चालू वर्षको पुस मसान्तसम्म आइपुग्दा सुधारिएर ८.९ गुणा पुगेको छ। यस्तै, कम्पनीको कुल ऋण र खुद पूँजीको अनुपात पनि ७ गुणाबाट उल्लेख्य रूपमा घटेर १ गुणामा झरेको छ।
देवेनरा र बाबा ग्रुपको लगानी रहेको यस कम्पनीलाई प्रवर्द्धकहरूको लामो अनुभवले व्यावसायिक सफलतामा सहयोग पुर्याएको छ। विशेषगरी खाद्य तेल प्रशोधन क्षेत्रमा रहेको उनीहरूको दख्खल र व्यवस्थापकीय कुशलताले कम्पनीको वृद्धिलाई गति दिएको हो। साथै, उद्योग नेपाल-भारत सीमा नजिक हुनुले ढुवानी र व्यवस्थापनमा कम्पनीलाई अतिरिक्त लाभ मिलेको छ।
कम्पनीको व्यापार मुख्यतया भारततर्फको निर्यातमा निर्भर छ। गत वर्ष र चालू वर्षको पहिलो ६ महिनामा कम्पनीको कूल बिक्रीको ९९ देखि १०० प्रतिशत हिस्सा भारततर्फको निर्यातले ओगटेको छ।
दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत नेपालले पाउने शून्य भन्सार सुविधाका कारण कम्पनीले भारतमा तेल निर्यात गरिरहेको छ। तर, भारत सरकारले अन्य मुलुकबाट आयात हुने कच्चा तेलको भन्सार दरमा हेरफेर गर्दा नेपाली उद्योगहरूको मूल्य अन्तरको लाभ घट्ने जोखिम देखिएको छ।
मारुति आयलले कच्चा तेलका लागि पूर्ण रूपमा दक्षिण अमेरिका र अस्ट्रेलियाका वैदेशिक आपूर्तिकर्तामा भर पर्नुपर्ने अवस्था छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य वृद्धि, आपूर्ति श्रृंखलामा आउने अवरोध र विदेशी मुद्रा विनिमय दरमा हुने उतारचढाव कम्पनीका लागि मुख्य चुनौती हुन्।
हालसम्म कम्पनीसँग विदेशी मुद्राको जोखिम न्यूनीकरण गर्ने ठोस संयन्त्र नभएकाले यसले नाफामा दबाब सिर्जना गर्न सक्ने देखिन्छ।
खाद्य तेल बजारमा पछिल्लो समय धेरै नयाँ उद्योगहरू थपिएका कारण प्रतिस्पर्धा तीव्र बनेको छ। धेरै साना र ठूला उद्योगहरूले एउटै बजारलाई लक्षित गर्दा नाफाको मार्जिनमा दबाब पर्न सक्ने रेटिङ रिपोर्टले औंल्याएको छ।
यद्यपि, मारुति आयलले आगामी दिनमा भारतीय निर्यातसँगै स्वदेशी बजारमा पनि आफ्नो उपस्थिति बलियो बनाउने योजना बनाएको छ। इक्रा नेपालले कम्पनीको वित्तीय अवस्थालाई मध्यमस्तरको जोखिम जनाउने ‘एल डबल बी माइनस’ र ‘ए फोर’ रेटिङ प्रदान गरेको छ।


