
मुक्तिक्षेत्रमा भारी हिमपात, अत्यधिक चिसाेले जनजीवन प्रभावित



काठमाडौं । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार अपराह्न ४ बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौँपटक हिमपात भएको छ ।
वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ क्षेत्रका निरन्तर रूपमा भारी मात्रामा हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । हिमपातसँगै मुक्तिनाथ मन्दिर क्षेत्र आसपासका डाँडाकाँडा हिउँले सेताम्मे बनेकाे छ । मुक्तिनाथ मन्दिरमा बिहानपख बढी मात्रामा दर्शनार्थी हुने गरेको र हिमपात केहीबेर अघिमात्रै सुरु भएकाले दर्शनार्थीलाई खासै समस्या नपरेको व्यवस्थापक भुसालको भनाइ छ ।
हिमपातका कारण चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवन प्रभावित भएको व्यवस्थापक भुसालको भनाइ छ । त्यसैगरी, मुक्तिनाथ क्षेत्रको मुक्तिनाथ, रानीपौवा, झारकोट, खिंगा, छेङ्गुर, पुडाक र झोङलगायत स्थानमा बाक्लो हिमपात भइरहेको जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए । त्यसैगरी, माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि दिउँसोदेखि हिमपात भइरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए ।
हिमपात नरोकिएमा माथिल्लो मुस्ताङका सबै भाग हिउँले ढाकिने बताए । हिमपातसँगै माथिल्लो मुस्ताङमा चिसो बढेका कारण स्थानीयको दैनिकीमा प्रतिकूल असर पुर्याएको एक्याप प्रमुख पौडेलको भनाइ छ ।

