
विपद्को पूर्वतयारीमा जुट्न ऊर्जामन्त्रीको निर्देशन
काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।
पछिल्लो मौसम प्रणाली र सम्भावित जोखिमको अवस्थाबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङसहित जल तथा मौसम विज्ञान विभाग पुगेका मन्त्री श्रेष्ठले पूर्वतयारी र पूर्वसूचनामा एकीकृत रुपमा परिचालित हुन निर्देशन दिएका हुन् । ‘पूर्वतयारी र पूर्वसूचनामा एकीकृत भएर उच्च समन्वयमा काम गर्नुस्,’ उनले मौसम विभागका अधिकारीलाई निर्देशन दिए ।
मन्त्री श्रेष्ठले गृहमन्त्री मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा एकीकृत समन्वय भई पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिनुपर्ने बताए ।
‘मलाई अलिकति चिन्ता के छ भने जुन अस्ति ऊर्जाको हाइड्रोमा जुन खालको क्षति त्यहाँ व्यहोर्यौ, यो पालि त्यस्तो खालको हुन्छ कि ? तर राम्रो के भएको छ भन्दा यही जल तथा मौसम विज्ञान विभागमा निजी क्षेत्रका र विद्युत प्राधिकरणका मान्छेलाई पनि सूचना प्रवाह गर्ने प्रणाली छ,’ उनले भने ।
विपद प्राधिकरणसँग तीनै तहको सरकारको बलियो समन्वय हुनुपर्ने उनको भनाइ थियो । ‘विपद् प्राधिकरणले जिल्ला विपद् र स्थानीय तहसँग कोर्डिनेट गर्यो भने अझै राम्रो हुन्छ । कोर्डिनेसनहरु बेटर हुन्छ । प्रदेश सरकारसँग पनि गर्नुपर्छ,’ उनले भने, ‘सूचनाहरुलाई राम्रोसँग फ्लो गरिदिनुस् ।’ मन्त्री श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिकेर ९ देखि ११ सम्मको अवधिमा सुसूचित भइदिन र आफ्ना प्रियजनलाई सतर्क गरिदिन तथा विपद् प्राधिकरणबाट जारी हुने सर्कुलेसन पालना गर्न अपिलसमेत गरे ।

