
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण: इन्धन ट्याङ्कीमा आगलागी, ४ विदेशी नागरिक घाइते



दुबई । दुबई अन्तर्राष्ट्रिय विमानस्थलको निकटवर्ती क्षेत्रमा सोमबार भएको ड्रोन आक्रमणका कारण एउटा इन्धन ट्याङ्कीमा आगलागी भएको छ। दुबई मिडिया अफिसले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारी अनुसार, दुईवटा ड्रोन खसेपछि उत्पन्न भएको उक्त आगलागीलाई नियन्त्रणमा लिइसकिएको छ।
सरकारको सञ्चार माध्यम सारजहाँ २४ का अनुसार यस घटनामा परी चार जना विदेशी नागरिक घाइते भएका छन्। घाइते हुनेहरूमा दुई जना घानाका र एक जना बङ्गलादेशी नागरिकलाई सामान्य चोट लागेको छ भने एक जना भारतीय नागरिक मध्यम रूपमा घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र कर्मचारीहरूको सुरक्षाका लागि विमानस्थलको उडान सेवा अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। विमानस्थल बन्द भएपछि एमिरेट्स एयरलाइन्सले पनि दुबई आउने र यहाँबाट बाहिरिने आफ्ना सबै उडानहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। एमिरेट्सले यात्रुहरूलाई तत्काल विमानस्थल नआउन र उडानको पछिल्लो जानकारीका लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न आग्रह गरेको छ।
पछिल्लो समय मध्यपूर्वमा तनाव बढ्दै जाँदा खाडी राष्ट्रहरू सुरक्षा चुनौतीको सामना गरिरहेका छन्। गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका-इजरायल र इरानबीचको युद्धयता खाडी मुलुकहरूमा २ हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमण भइसकेका छन्। यी आक्रमणहरूमा अमेरिकी कूटनीतिक नियोग, सैन्य आधार इलाकाका साथै तेल प्रशोधन केन्द्र, बन्दरगाह र विमानस्थल जस्ता महत्वपूर्ण पूर्वाधारहरूलाई निशाना बनाइएको छ।
सन् २०२० मा इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेको संयुक्त अरब इमिरेट्स (युएई) ले यस्ता आक्रमणको बढी मार खेपिरहेको छ। इरानसँगको बढ्दो तनावका कारण सम्पूर्ण खाडी राष्ट्रहरू प्रभावित भएका छन् र उनीहरूले सामूहिक रूपमा यस्ता सैन्य हस्तक्षेपको निन्दा गर्दै आएका छन्। अहिले विमानस्थलको सुरक्षा जाँच कडा पारिएको छ र स्थिति सामान्य बनाउने प्रयास भइरहेको छ।

