
इजरायलद्वारा नेपाली शान्ति सैनिकको हेडक्वार्टरमा आक्रमण



काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टर नजिक इजरायलद्वारा हवाई आक्रमण भएको छ। उक्त घटना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस लेबनान भ्रमणमा रहेका समयमै भएको हो।
शुक्रबार साँझ दक्षिण लेबनानको मैस अल–जाबाल क्षेत्रमा रहेको बटालियन हेडक्वार्टर नजिक अचानक विस्फोट भएको थियो। आक्रमणका कारण एक भवनमा क्षति पुगेको र केही व्यक्तिगत सामग्री नष्ट भएको छ। यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको र सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाले बताएको छ।
हाल लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत ५४० नेपाली सैनिक र १३ जना स्टाफ अधिकृत कार्यरत छन्। आक्रमण भएको स्थानमा कति सैनिक उपस्थित थिए भन्ने विषय भने स्पष्ट भएको छैन। सेनाका अनुसार त्यतिबेला अधिकांश सैनिक सुरक्षा सावधानीका कारण बंकरभित्र रहेका थिए।
संयुक्त राष्ट्रसंघले केही दिनअघि सुरक्षा जोखिम बढेपछि ‘सेक्युरिटी लेभल–३’ लागू गरेको थियो। यस स्तरमा सैनिकहरूलाई कडा सुरक्षा व्यवस्थासहित बंकरमा बस्नुपर्ने र नियमित अपरेसनल गतिविधि सीमित हुने प्रोटोकल लागू हुन्छ।
दुबईस्थित सञ्चारमाध्यम द नेसनल ले लेबनानको सरकारी समाचार एजेन्सीलाई उद्धृत गर्दै इजरायललाई जिम्मेवार ठहर गरिएको उल्लेख गरेको भए पनि संयुक्त राष्ट्रसंघले आधिकारिक रूपमा कसैलाई दोषी ठहर गरेको छैन भने यस विषयमा अहिले अनुसन्धान भइरहेको बताएको छ। लेबनानका राष्ट्रपति जोसेफ आउनले घटनाका लागि इजरायल जिम्मेवार रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले शान्ति सैनिक र उनीहरूका आधार क्षेत्रमा हुने आक्रमण अस्वीकार्य रहेको भन्दै सम्बन्धित सबै पक्षलाई उनीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ। लेबनान र इजरायलबीच गत वर्ष भएको युद्धविरामपछि पनि क्षेत्रीय तनाव पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। त्यसयता इस्लामिक संगठन हिजबुल्लाह र इजरायली सेनाबीच समय–समयमा झडप र आक्रमणका घटनाहरू भइरहेका छन्।

