
कञ्चनपुरमा छ प्रतिशत मत बदर



दोधारा चाँदनी। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा ६.८५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
क्षेत्र नम्बर १ मा ६० हजार ७८५ मत खसेकोमा तीन हजार ७३४ मत बदर भएको छ । यो क्षेत्रमा कूल एक लाख एक हजार ७२४ मतदाता रहेका थिए । निर्वाचन क्षेत्र नम्बर २ मा ६५ हजार ३४७ मत खसेकोमा चार हजार २३० मत बदर भएका छन् ।
यहाँ एक लाख नौ हजार ५७४ मतदाता रहेका थिए । त्यसैगरी क्षेत्र नम्बर ३ मा ५८ हजार २०९ मत खसेकोमा चार हजार ६६३ मत बदर भएका छन् । निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले अधिकांश मतमा दोहोरो छाप लागेको र कतिपय मतपत्रमा एउटा औँठा छापसमेत पाइएको बताए ।
गत निर्वाचनमा छ प्रतिशत मत भएको निर्वाचन आयोगले जनाएको छ । कञ्चनपुरमा तीन लाख १७ हजार ६२३ मतदाता रहेको कञ्चनपुरमा तीनवटै निर्वाचन क्षेत्रमा ५८.६७ प्रतिशत मतदान भएको थियो ।

