
अमेरिका–इरान युद्धको विरोधमा विश्वका विभिन्न शहरमा प्रदर्शन



काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावको विरोधमा अमेरिका सहित विश्वका विभिन्न देशका शहरहरूमा प्रदर्शन भएका छन्। प्रदर्शनकारीहरूले युद्ध रोक्न र कूटनीतिक समाधान खोज्न माग गरेका छन्।
अमेरिकाको न्युयोर्क सिटीको म्यानहट्टन क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले सरकारलाई विदेशी युद्धमा संलग्न हुनुभन्दा नागरिकको आर्थिक र सामाजिक समस्यामा ध्यान दिन आग्रह गरेका थिए। उनीहरूले युद्धका लागि खर्च हुने रकम जनताको आवश्यकता पूरा गर्न प्रयोग गर्नुपर्ने भन्दै नारा लगाएका थिए।
नेशनल इरानियन अमेरिकन काउन्सिलका प्रतिनिधि इतान माबोराकले इरानमाथि भएको आक्रमणले इरानी–अमेरिकी समुदाय असन्तुष्ट बनेको बताएका छन्। उनले द्वन्द्व समाप्त हुने स्पष्ट संकेत नदेखिएको बताउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले व्यक्त गरेको युद्ध नगर्ने अडान परिवर्तन गरेको आरोप पनि लगाए। अमेरिकाको लस एन्जलसमा पनि युद्ध रोक्न माग गर्दै प्रदर्शन भएको थियो।
उता टोरन्टोमा इरान सम्बन्धी फरक राजनीतिक धारणा भएका समूहहरूले छुट्टाछुट्टै प्रदर्शन गरेका थिए। त्यहाँ इरानका राजतन्त्र समर्थक र इस्लामिक शासन समर्थक दुवै समूह सडकमा उत्रिएका थिए तर दुवैले युद्ध अन्त्य गर्नुपर्ने माग गरेका थिए।
युरोपका विभिन्न शहरहरू बर्लिन, स्टकहोम, पेरिस र लन्डनमा पनि विरोध प्रदर्शन भएको छ। केही प्रदर्शनकारीहरूले इरानको पुरानो राजतन्त्रकालीन झण्डा बोकेका थिए र पूर्व राजपरिवारका सदस्य रेजा पहल्वीलाई संक्रमणकालीन नेतृत्व दिनुपर्ने माग गरेका थिए।
लन्डनमा भएको प्रदर्शनमा करिब पाँचदेखि छ हजार मानिस सहभागी भएको बताइएको छ। फ्रान्सको पेरिसमा भने फरक–फरक दुई समूहले प्रदर्शन गरेका थिए। एक समूहले इरानमा राजनीतिक परिवर्तन आवश्यक रहेको भन्दै पहल्वीलाई समर्थन जनाएको थियो भने अर्को समूहले अमेरिका र इजरायलले गरेको सैन्य हस्तक्षेपको आलोचना गरेको थियो।
स्विडेनको स्टकहोम र नेदरल्याण्ड्सको एम्स्टड्र्याममा पनि सयौं मानिस युद्धविरुद्ध सडकमा उत्रिएका थिए। बेलायतमा युद्ध विरोधी प्रदर्शनकारीहरू आरएएफ फेयरफोर्ड वायुसेना अड्डाको बाहिर भेला भएर इरानमाथि थप आक्रमण नगर्न आग्रह गरेका थिए।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानमाथि गरिएका सैन्य कारबाही सफल भएको दाबी गर्दै आगामी दिनमा थप कडा कदम चालिने संकेत दिएका छन्। त्यस्तै बेन्जामिन नेतान्याहुले इरानका हवाई सैन्य संरचनामा ठूलो क्षति पुगेको दाबी गरेका छन्।
यसबीच इरानका विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकाले इरानको क्षमता र उद्देश्यलाई गलत रूपमा मूल्यांकन गरेको आरोप लगाएका छन्। साथै इरानका वरिष्ठ नेता अली लारिजानीले पनि यदि युद्ध बढेमा त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।

