
इरान युद्धको बाछिटाः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासियो



लण्डन । मध्यपूर्वमा विकसित पछिल्लो तनाव र इरानसँगको युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो उछाल आएको छ। सन् २०२२ यता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको हो।
अमेरिका र इजरायलले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमण र तेल डिपोहरूलाई निशाना बनाएपछि विश्वभर ऊर्जा सङ्कटको त्रास बढेको छ। सोमबार बिहान एसियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट क्रुडको मूल्य १५.५ प्रतिशतले बढेर प्रतिब्यारल १०७.१६ डलर पुगेको छ। त्यस्तै, नाइमेक्स लाइट स्वीट क्रुडको मूल्य पनि १७ प्रतिशतभन्दा बढीले वृद्धि भई १०६.७७ डलर पुगेको छ। बजार विश्लेषकहरूले यो साता मूल्य १०० डलर पुग्ने अनुमान गरे पनि एसियाली ट्रेडिङ सुरु भएको केही मिनेटमै मूल्यमा अप्रत्याशित वृद्धि देखिएको हो।
स्ट्रेट अफ हर्मुजमा अवरोधको डर
विश्वको महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुजबाट हुने तेल र ग्यास आपूर्तिमा अवरोध आउने डरले बजारलाई त्रसित बनाएको छ। इरान र वरपरका क्षेत्रमा ऊर्जा पूर्वाधारहरू ध्वस्त पारिएका दृश्य सार्वजनिक भएपछि लगानीकर्ताहरू झस्किएका हुन्। यदि यो मार्ग आगामी मार्च अन्त्यसम्म बन्द रहेमा तेलको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गर्दै प्रतिब्यारल १५० डलरसम्म पुग्न सक्ने विश्लेषण गरिएको छ।
यसको प्रत्यक्ष असर उपभोक्ता र व्यवसायीमा पर्ने देखिएको छ। पेट्रोल, डिजेल मात्र नभई हवाई इन्धन र रासायनिक मलको कच्चा पदार्थको मूल्य समेत बढ्ने निश्चित छ।
गल्फ क्षेत्रबाट हुने आपूर्ति मुख्यतया एसियाली देशहरूमा खपत हुने भए पनि अहिले एसियाली उपभोक्ताहरूले अमेरिकी ग्यासका लागि उच्च मूल्यमा बोलकबोल गर्न थालेका छन्। यसको प्रभाव स्वरूप युरोपतर्फ जाँदै गरेका केही ग्यास ट्याङ्करहरू बिच बाटोबाटै मोडिएर एसियातर्फ लाग्न थालेका छन्।
राजनीतिक नेतृत्व र सेयर बजारमा गिरावट
यसैबिच, इरानमा सर्वोच्च नेता अली खामेनीको उत्तराधिकारीका रूपमा उनका छोरा मोजताबा खामेनीलाई चयन गरिएको छ। यसले इरानमा कट्टरपन्थीहरूको पकड कायमै रहेको र युद्ध तत्काल साम्य हुने सम्भावना न्यून रहेको संकेत गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेलको मूल्यमा आएको वृद्धिलाई इरानको परमाणु खतरा हटाउनका लागि तिर्नुपर्ने सानो मूल्य भएको प्रतिक्रिया दिएका छन्। यद्यपि, अमेरिकी ऊर्जा सचिवले भने तेल पूर्वाधारमा हुने आक्रमणमा अमेरिका नभई इजरायल संलग्न रहेको स्पष्टीकरण दिएका छन्, जसले अमेरिकी घरेलु बजारमा बढ्दो इन्धनको मूल्यप्रति सरकारको चिन्ता झल्काउँछ।
तेलको मूल्य वृद्धिको नकारात्मक असर सेयर बजारमा पनि देखिएको छ। सोमबार एसिया–प्रशान्त क्षेत्रका सेयर बजारहरूमा भारी गिरावट आयो। जापानको निक्केई २२५ इन्चडेक्स ५ प्रतिशतभन्दा बढीले घट्यो भने अष्ट्रेलियाको एएसएक्स २०० मा ३.५ प्रतिशतको गिरावट दर्ता भएको छ। विश्वव्यापी अर्थतन्त्रमा थप मुद्रास्फीति बढ्ने खतराले लगानीकर्ताहरू अन्यौलमा परेका छन्।

