
अमेरिकी संसद्ले खारेज गर्यो इरानविरुद्ध आक्रमण रोक्ने प्रस्ताव, ट्रम्पलाई बाटो खुला



काठमाडौं । इरानविरुद्ध थप सैन्य आक्रमण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना रोक्न पेस गरिएको प्रस्ताव अमेरिकाको संसद् (कंग्रेस) ले खारेज गरेको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रस्तावका पक्षमा ४७ सांसद उभिँदा विपक्षमा ५३ मत परेका हुन्। यसको अर्थ ट्रम्पले इरानविरुद्ध सैन्य हमला जारी राख्न सक्छन्। आज अमेरिका-इजरायल-इरान युद्धको छैटौँ दिन हो। इरानविरुद्ध अमेरिकाले आक्रमण गरेको १०० घण्टा नाघिसकेको छ। इजरायल र अमेरिकाले अहिलेसम्म इरानमा ५ हजारभन्दा बढी बम खसालेका छन् भने इरानका २० वटा युद्धपोत डुबाइदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
इरानमा भएको आक्रमणमा मारिएकाको संख्या हजार नाघिसकेको छ। जवाफमा इरानले मध्यपूर्वका नौ देशमा रहेका अमेरिकी अड्डामा आक्रमण गरेको छ। यसैबिच इरानले इजरायललाई कडा चेतावनी दिएको छ। इरानका एक सैन्य अधिकारीले भनेका छन्, ‘यदि अमेरिका र इजरायलले इरानमा शासन परिवर्तनको प्रयास गरे भने इजरायलको डिमोना आणविक स्थललाई निसाना बनाइनेछ।’

