
गृहमन्त्री अर्यालद्वारा मतदानस्थलको अनुगमन, प्रहरी मुख्यालयमा निर्वाचन व्यवस्थापन केन्द्रको निरीक्षण



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँ निर्वाचन क्षेत्र नं ६ तारकेश्वर नगरपालिकाअन्तर्गत तारकेश्वर मतदानस्थलको अनुगमन तथा प्रहरी प्रधानकार्यालयमा निर्वाचन व्यवस्थापन सूचना केन्द्रको निरीक्षण गरेका छन् ।
गृहमन्त्रीका साथ गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललगायत सुरक्षा निकायका अधिकारीहरू थिए । मतदातासँग कुरा गर्दै गृहमन्त्रीले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे। उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्कतापूर्वक कार्यस्थलमा खटिएका बताए।
गृहमन्त्रीले मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिए। गृहमन्त्रीलाई निर्वाचन व्यवस्थापन सूचना केन्द्रमा पालिकास्तरसम्म जनशक्ति व्यवस्थापन एवं परिचालन, निर्वाचनमा खटिएका सबैको एकीकृत सूचना निर्वाचन प्रहरी, मतदानस्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारको विवरण प्राप्त गर्न सकिनेबारे जानकारी गराइएको थियो । मतदानस्थल र मतपेटिकाको अवस्थाको स्थलगत र सङ्ख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले केन्द्रबारे जानकारी दिनुभएको थियो । केन्द्रबाट मतदानस्थलमा मतपेटिका पुगेनपुगेको, मतदान प्रक्रिया प्रारम्भ भएनभएको सूचना सहजै प्राप्त गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । देशभरका सबै निर्वाचन क्षेत्रका निर्वाचन गतिविधिको सहज रुपमा अनुगमन गर्न सकिन्छ ।
केन्द्रमा ४१ वटा रियल टाइम भिडियो क्यामेरा जडान गरिएको छ। गृहमन्त्री अर्यालले सातवटै प्रदेशमा परिचालन भएका सुरक्षाकर्मी तथा निर्वाचन ‘डेस्क’का सुरक्षाकर्मीबारे जानकारी लिएका थिए ।

