
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता गरेको छ। महानगरपालिकाको शिक्षा विभागमा आयोजित कार्यक्रममा विभागीय प्रमुख नमराज ढकाल र स्रोत शिक्षकबीच सम्झौता भएको हो। ‘स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८०’ तथा शिक्षा तथा स्वास्थ्य समितिको साउन २२ गतेको निर्णयका आधारमा सम्झौता गरिएको विभागले जनाएको छ। सम्झौताअनुसार स्रोत शिक्षकले आफ्नो कार्यक्षेत्रमा रहेका सामुदायिक विद्यालयको शिक्षण सिकाइ वातावरण सुधारका लागिमासिक र साप्ताहिक कार्ययोजना तयार गरि कार्यन्वयन गर्नुपर्नेछ।
स्रोत शिक्षकले महानगरपालिकाले तय गरेका शैक्षिक नीति तथा कार्यक्रमलाई विद्यालय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहजीकरण गर्नेछन्। साथै, शिक्षकको पेसागत क्षमता विकासमा सहयोग गर्ने, विद्यालयमा देखिएका समस्या पहिचान तथा समाधानका लागि समन्वय गर्ने र शिक्षण सिकाइमा आवश्यक सुधारका लागि सहजीकरण गर्ने जिम्मेवारीसमेत उनीहरूलाई दिइएको छ।
विभागीय प्रमुख ढकालका अनुसार स्रोत शिक्षकलाई विद्यालयको शैक्षिक वातावरण सुधारमा प्रत्यक्ष रूपमा परिचालन गरी महानगरको शैक्षिक नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको हो।

