
नेपाल लाइफको बीमा अभिकर्ता संघका पूर्व पदाधिकारीविरूद्ध अदालत जाने चेतावनी



काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले संघको खातापाता, आर्थिक विवरण तथा सदस्यता अभिलेख हतान्तरण नगरेका पूर्व पदाधिकारीविरुद्ध कानूनी कारबाही अघि बढाउने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गणेश अधिकारीले पटक पटक आग्रह गर्दा पनि पूर्व पदाधिकारीहरूले आवश्यक कागजात बुझाउन अस्वीकार गरेको भन्दै अब अदालत जाने निर्णय गरिएको जानकारी दिए।
अधिकारीले विशेष अधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय समिति वैधानिक भएको पाटन उच्च अदालतको आदेशपछि पनि पूर्व नेतृत्वले सम्पत्ति तथा अभिलेख बुझाउन अटेर गरेको आरोप लगाए। उनका अनुसार संघको बैंक खाताबाट विभिन्न व्यक्तिको नाममा ठूलो रकम निकासी भए पनि त्यसको खर्च विवरण, बिल वा लेखाजोखा उपलब्ध गराइएको छैन, जसले आर्थिक अपचलनको आशंका बढाएको छ।
संघले यसअघि गोरखापत्र र राष्ट्रिय दैनिकमार्फत सार्वजनिक सूचना प्रकाशित गरी सम्पत्ति बुझाउन आग्रह गरेको थियो। तर तोकिएको समयसीमा भित्र पनि कुनै प्रतिक्रिया नआएपछि संघले अन्ततः अदालतमा जाने निर्णय गरेको हो। अधिकारीले पूर्व अध्यक्ष अमाय नेतृत्वको टोलीले दुई वर्षसम्म सम्पत्ति बुझाउन अटेर गरेको र हाल उनी राजनीतिक दलको उम्मेदवार बनेको प्रसंग उठाउँदै नैतिक प्रश्न समेत खडा भएको बताए।
संघले अब सम्पूर्ण प्रमाणसहित अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ। अध्यक्ष अधिकारीका अनुसार संघको कोषमा सदस्यता शुल्क, बीमा अभिकर्ताबाट संकलित अंश, एजेंसी शुल्क, विभिन्न आर्थिक सहयोग तथा अन्य स्रोतबाट संकलित रकम रहेको छ, जसको पारदर्शी व्यवस्थापन आवश्यक छ।
यस घटनाले बीमा अभिकर्ता संघभित्र लामो समयदेखि जारी विवादलाई थप चर्काएको छ। संघले कानुनी र प्रशासनिक कदम चाँडै अघि बढाउने घोषणा गरेको छ।

