
प्रधानमन्त्री नपाए सरकारमा जाँदैनौं : प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अबको निर्वाचनमा पार्टीको ध्यान स्पष्ट बहुमत ल्याउनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्। पार्टीको स्याङ्जा–काठमाडौं सम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बहुमत नआएर केवल ठूलो दल मात्र बनेको अवस्थामा नेतृत्व नपाए कांग्रेस सरकारमै नजाने बताए ।
उनले हिजो ठूलो पार्टी हुँदा पनि कांग्रेसलाई सरकारको नेतृत्व गर्न नदिँदा दोस्रो र तेस्रो दलको नेतृत्वमा सरकारमा गएर गल्ती गरेको बताए ।उनले भने, ‘बहुमत ल्याएपछि सरकारमा नजाने कुरै भएन, बहुमत ल्याएर हिजोका अनुभवको आधारमा विगतका गल्तीहरूलाई सच्चाएर देश बनाउने गरी सरकार चलाउँछौँ ।
ठूलो पार्टी भयौँ भने कांग्रेसले सरकारको नेतृत्व गर्न पाएन भने पनि सरकारमा जादैनौँ । तर, ठूलो पार्टी भयौँ भने सरकारको नेतृत्व गर्ने दाबी गर्छौँ । हिजो हामीले गल्ती गर्यौँ, हामी दोस्रो त हुँदैनौँ । तर, केही गरी भइएछ भने सरकारमा जाने छैनौँ । संसदीय व्यवस्थालाई हामीले पालना गर्नेर्छौँ । पहिलो र दोस्रो पार्टी मिलेर संसदीय व्यवस्थामा सरकारमा जान हुँदैन । यो कुरामा हामी चुक्यौँ, जे गरे पनि सत्ता मात्रै हो भन्ने सोच हामीले बदलेका छौँ ।’ उनले नेतृत्व परिवर्तनपछि पार्टीप्रति देशैभर आकर्षण बढेको जिकिर गरे ।

