
चीनले बेलायत र क्यानडाका नागरिकलाई दियाे ‘भिसा-फ्री’ यात्राको सुविधा



काठमाडाैं । चीनले बेलायत र क्यानडाका नागरिकहरूका लागि भिसा बिना नै आफ्नो देश भ्रमण गर्न पाउने व्यवस्था गरेकाे छ।
आगामी फेब्रुअरी १७ देखि लागू हुने गरी चीनले बेलायत र क्यानडाका नागरिकहरूका लागि ३० दिनसम्म भिसा बिना नै आफ्नो देश भ्रमण गर्न पाउने व्यवस्था गरेको हाे।
चीनको विदेश मन्त्रालयका अनुसार पर्यटक, व्यवसायी तथा परिवार र साथीभाइ भेट्न जानेहरूले यो सुविधा पाउनेछन्। यो नीति प्रारम्भिक रूपमा आगामी डिसेम्बर ३१ सम्मका लागि लागू गरिएको हो।
बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले गत महिना चीनको औपचारिक भ्रमण गरी राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेपछि यो सहमति भएको हो। सो भ्रमणका क्रममा दुवै नेताहरू भ्रमण सम्बन्धी नियमहरूलाई खुकुलो बनाउन सहमत भएका थिए। प्रधानमन्त्री स्टारमरका अनुसार यो सम्झौताले बेलायती व्यवसायहरूलाई चीनमा विस्तार गर्न सहज बनाउनेछ, यद्यपि आलोचकहरूले भने यसले मानवअधिकार र राष्ट्रिय सुरक्षाका विषयलाई ओझेलमा पारेको टिप्पणी गरेका छन्।
चीनको विदेश मन्त्रालयले आइतबार यो नीतिको औपचारिक मिति घोषणा गर्दै यस योजनाले चीन र अन्य देशहरूबीचको जनस्तरको सम्बन्धलाई थप सहज बनाउने विश्वास व्यक्त गरेको छ।
यो नयाँ व्यवस्थासँगै अब बेलायत र क्यानडाका पासपोर्ट वाहकहरूले पनि फ्रान्स, जर्मनी, इटाली, अस्ट्रेलिया र जापान सहित अन्य ५० देशका नागरिक सरह नै सुविधा पाउनेछन्।
तथ्याङ्क अनुसार सन् २०२४ मा करिब ६ लाख २० हजार बेलायतीहरूले चीन भ्रमण गरेका थिए, जसका कारण यो परिवर्तनबाट लाखौँ बेलायतीहरू लाभान्वित हुन सक्ने देखिएको छ।
जनवरीमा चीन भ्रमण गर्दा स्टारमरले बेलायती व्यवसायीहरू चीनमा आफ्नो उपस्थिति बढाउन आतुर रहेको बताएका थिए। दुवै देश स्वास्थ्य सेवा, हरित प्रविधि र वित्त जस्ता क्षेत्रमा व्यापारिक सम्बन्ध गहिरो बनाउन सहमत भए पनि कुनै ठूलो स्वतन्त्र व्यापार सम्झौता भने भएको छैन।
सन् २०१८ मा थेरेसा मे पछि चीन भ्रमण गर्ने स्टारमर पहिलो बेलायती प्रधानमन्त्री हुन्। उनको यो कदमको केही विपक्षी नेताहरूले आलोचना समेत गरेका छन्।

