
जगदम्बा हायर पर्चेजको व्यवसायमा उत्साहजनक सुधार: १०२ प्रतिशतले बढ्याे नाफा



काठमाडौँ । प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपद्वारा प्रवर्द्धित जगदम्बा हयर पर्चेज लिमिटेडको सञ्चालन सूचकहरूमा उत्साहजनक सुधार देखिएको छ ।
अघिल्ला दुई आर्थिक वर्ष सुस्त रहे पनि आर्थिक वर्ष २०२४/२५ मा कम्पनीको कर्जा पोर्टफोलियो ३४ प्रतिशत र खुद नाफा करिब १०२ प्रतिशतले वृद्धि भएको छ ।
पछिल्लो समय कम्पनीले कम मूल्यका उपभोग्य इलेक्ट्रोनिक्स र मोबाइल खण्डमा गरेको विस्तार र बजारमा रहेको अधिक तरलताका कारण घटेको ब्याज खर्चले नाफा बढाउन मद्दत पुगेको देखिएको छ ।
आर्थिक वर्ष २०२४/२५ मा हयर पर्चेज लिमिटेडले १ अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको कुल कर्जा लगानी गरेको छ । कम्पनीले सन् २०२३/२४ मा १ अर्ब १३ करोड ९० लाख, सन् २०२२/२३ मा १ अर्ब ३९ करोड ६० लाख र सन् २०२१/२२ मा १ अर्ब ४३ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सन् २०१६ देखि सञ्चालनमा रहेको यस कम्पनीले सवारी साधन तथा इलेक्ट्रोनिक्स सामग्रीको क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ । कम्पनीको टिभीएस र प्रोटोन गाडीहरूको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँग भगिनी सम्बन्ध रहेका कारण यसले बजारमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गरिरहेको छ । कम्पनीको व्यवस्थापन दुई दशकभन्दा लामो अनुभव भएका साहिल अग्रवालले गरिरहेका छन् ।
कम्पनीको वित्तीय स्वास्थ्यमा सुधार देखिए पनि केही व्यावसायिक चुनौतीहरू कायमै छन् । सन् २०२४/२५ मा कम्पनीको ब्याज भुक्तानी क्षमता १.८३ गुणा रहेको छ । कम्पनीको कुल कर्जा लगानीको करिब ५० प्रतिशत हिस्सा बागमती प्रदेशमा मात्र केन्द्रित हुनु र १५,००० को हाराहारीमा मात्र ग्राहक आधार हुनुलाई रेटिङ रिपोर्टले मुख्य चुनौतीका रूपमा औंल्याएको छ ।
यद्यपि, कम्पनीको कर्जा पोर्टफोलियोमा प्रति ग्राहक औसत कर्जा १ लाख ६ हजार रुपैयाँ मात्र रहेकाले यसले जोखिम विविधीकरणमा सहयोग पुगेको छ ।
यता कम्पनीको कर्जा गुणस्तरमा पनि केही दबाब देखिएको छ । सन् २०२३ मा १.१८ प्रतिशत रहेको निष्क्रिय कर्जा सन् २०२४ मा ३.१७ प्रतिशत पुगेको थियो भने सन् २०२५ मा अझ बढेर ४.४२ प्रतिशत पुगेको छ । यस्तै, ९० दिनभन्दा बढीको भाखा नाघेको कर्जाको हिस्सा ६.३८ प्रतिशत पुग्नु र प्रोभिजन कभरेज रेसियो ७१ प्रतिशतबाट घटेर ४१ प्रतिशतमा झर्नुले असुली प्रक्रियामा चुनौती थपिएको संकेत गर्दछ ।
कम्पनीको वित्तीय अवस्था बलियो देखिनुमा यसको संचित जगेडा कोषको पनि भूमिका छ। सन् २०२५ को मध्य जुलाईसम्ममा कम्पनीले २४ करोड २० लाख रुपैयाँ बराबरको जगेडा कोष निर्माण गरेको छ । नियामक निकायले तोकेको १० गुणाको सीमाको तुलनामा कम्पनीको गियरिङ अनुपात १.४३ गुणा मात्र रहेकाले यसले भविष्यमा थप व्यवसाय विस्तारका लागि पर्याप्त स्थान प्रदान गरेको छ ।
इन्फोमेरिक्स नेपालले जगदम्बा हयर पर्चेजको १ अर्ब ७२ कराड २५ रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधाका लागि ‘आईआरएन बीबी’ र ५० मिलियन रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधाका लागि ‘आईआरएन ए फोर’ रेटिङ प्रदान गरेको छ ।
शंकर ग्रुपको अनुभव र साहिल अग्रवालको नेतृत्वले कम्पनीलाई वित्तीय लचकता प्रदान गरे तापनि भौगोलिक एकाधिकार र बढ्दो निष्क्रिय कर्जा कम्पनीका लागि मुख्य चुनौती हुन् ।

