
वीरगञ्जनाकाबाट सामान आयात बढ्यो, ६ महिनामा ४ खर्ब ३८ अर्बको आयात



वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ ।
गत आवको ६ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५.३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आवको ६ महिनामा भने ३ खर्ब ८० अर्ब ६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको छ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए ।
चालु आवको ६ महिनामा ९० अर्ब ६ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । समिक्षा अवधिमा ३९ अर्ब ३ करोड मूल्यपर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । चालु आवको ६ महिनामा ३० अर्ब एक करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २७ अर्ब ७२ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।
सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै १९ अर्ब चार करोड मूल्य पर्ने कपडाहरु आयात भएको भन्सार विभागले जनाएको छ ।

