
निर्वाचनका लागि भारत सरकारले दियाे ६० भन्दा बढी डबल क्याब पिकअप सवारीसाधन



काठमाडाैं । भारतले नेपालमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सहयाेग स्वरूप ६० भन्दा बढी डबल क्याब पिकअप सवारीसाधन उपलब्ध गराएको छ।
नेपाललाई निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेपअन्तर्गत भारत सरकारले मंगलबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा पहिलो खेपअन्तर्गत ६० भन्दा बढी डबल क्याब पिकअप सवारीसाधन गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरेकाे हाे ।
नेपालका लागि भारतीय कार्यवाहक राजदूत डा. राकेश पाण्डेले आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले अनुरोध गरेको सहयोगअन्तर्गत ती सामग्री प्रदान गरेका हुन्। काठमाडौंस्थित भारतीय दूतावासका अनुसार यो सहयोग नेपाल सरकारको आवश्यकता अनुरूप प्रदान गरिएको हो।
गृहमन्त्री अर्यालले उपहारस्वरूप प्राप्त सवारीसाधन र सामग्रीका लागि भारत सरकार तथा भारतीय जनताप्रति आभार व्यक्त गरे।
नेपाल सरकारको अनुरोधपछि भारतले सन् २००८ देखि निरन्तर रूपमा नेपाललाई निर्वाचनसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ।
आगामी निर्वाचनका लागि भारतले करिब ६५० वटा सवारीसाधन सहयोग गर्ने जनाएको छ, जसलाई आगामी केही हप्ताभित्र विभिन्न चरणमा उपलब्ध गराइने भारतीय दूतावासले जानकारी दिएको छ।
भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भारतबाट प्राप्त यो सहयोग र समर्थन दुई देशबीचको बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारीको प्रतिबिम्ब मात्र नभई भारत र नेपालका जनताबीचको गहिरो आपसी विश्वास र मित्रताको प्रतीक पनि हो।”

